प्रधानमन्त्रीसहित उच्चस्तरीय समिति बैठक बस्दै, स्वरुप परिवर्तन गरेर लकडाउन जारी राख्ने तयारी
काठमाडौं, २३ बैशाख । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक आज बस्दैछ ।
कोरोना भाइरसको संक्रमित बढ्दै जाँदा लकडाउन थप गर्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने विषयमा छलफल गर्न बैठक अपराह्न चार बजे बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ । आजको बैठकमा प्रधानमन्त्रीको समेत धारणा आएपछि बैठकले खाका तय गर्नेछ ।
यता, समितिले लकडाउनलाई निरन्तरता नै दिने तयारी गरिसकेको छ । समितिले देशभर लकडाउन यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने खाका तय भइसकेको छ ।
समितिको हिजोको बैठकमा विज्ञहरूलाई समेत सहभागी गराएर खाका तयार गरिएको हो । समितिले कम्तिमा दुई सातासम्म स्वरूप परिवर्तन गरेर लकडाउनलाई जारी राख्ने खाका तयार गरेको हो ।
यता, भारतसँग सीमा जोडिएका इलाकामा जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सुरक्षा निकायका प्रमुखहरूले पनि त्यहाँ थप कडाइ र लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिइसकेका छन् ।