vada
News

तनहुँमा पहिरो अपडेटः ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ५ जना अझै बेपत्ता

२९ असार, तनहुँ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । ५ जना अझै बेपत्ता छन् ।ज्यान गुमाउनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

एसपी पौडेलका अनुसार माँझफाँटका एकै घरपरिवारका ३ जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको पनि मृत्यु भएको छ ।त्यस्तै, व्यास–९ माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोका कारण जिल्लामा ५ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको एसपी पौडेलले बताए । उनका अनुसार पहिरोमा परी मृत्यु भएका रिसिङका भेषबहादुरकी २९ वर्षीया श्रीमती नानुमाया, उनकी ५ वर्षीया छोरी अमिषा, भेषबहादुरका २२ वर्षीय भाइ महादेव, महादेवकी १९ वर्षीया श्रीमती मनिसरा थापा र व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा पनि बेपत्ता भएका छन् ।

यस्तै, पहिरोबाट घाइते भएका व्यास–९ माझफाँटका केशरबहादुर थापा र रिसिङ–८ की ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण ठाउँठाउँमा विजुलीका पोलहरु ढल्दा विद्युत अवरुद्ध भएको छ । पहिरोका कारण अवरुद्ध राजमार्ग अहिले खुलाइए पनि भित्री सडकहरु अझै अवरुद्ध छन् ।

Related Articles

Back to top button