vada
News

शैलेस थापा क्षेत्री बने नेपाल प्रहरीको २८ औं आइजीपी

काठमाडौं, २३ असार । नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक(आइजीपी)मा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् । मंगलवारकाे मन्त्रीपरिषद्काे बैठकले थापालाइ आइजीपी बनाउने निर्णय भएकाे हाे ।

वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । थापासँगै महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । पाल र थापा एकै दिन नेपाल प्रहरीकाे सेवामा प्रवेश गरेका हुन् । उनीहरू प्रहरी संगठनमा एकै मितिमा १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।दार्चुलाका पालले सुदूरपश्चिमबाटै सेवा सुरु गरेका हुन् भने भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका हुन् ।

थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । थापा २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

महानिरीक्षक ज्ञवाली गएको माघ २८ गते आईजीपीमा बढुवा भएका थिए । ज्ञवालीको कार्यकाल कोरोना संक्रमण विरुद्धको प्रतिकार्य योजनामा खटिँदै गर्दा सकिएको हो । ज्ञवालीले आफ्नो कार्यकालमा खासै उपलब्धिपूर्ण काम नगरे पनि विवादास्पद निर्णय पनि उनको पालामा भएनन् ।

नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् । थापाका एक समकक्षीका अनुसार फिल्ड कमाण्डमा भने उनी कमजोर अधिकृतका रुपमा चिनिन्छन् ।

सेवाको २८ वर्षसम्म उनले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा बिताएका छन् । थापा बाबु शम्भु थापा २०५१/०५२ ताका डीआईजीबाट अवकाश पाएका अधिकृत हुन् ।

डीआईजीमा बढुवा भएपछि महानगरीय प्रहरी कार्यालय प्रमुखमा सरुवा भएका थापा त्यसपछि पुन महानिरीक्षकको सचिवालय र प्रहरी प्रवक्ता बनेका उनी एआईजीमा बढुवापछि मानवस्रोत तथा प्रशासन विभागमा सरुवा भएका थिए । थापाकाे अवधि १८ वैशाख २०७९ सम्मका लागि हुनेछ ।
नयाँ आईजिपी थापा सामु पनि निर्मला हत्या काण्डका दोषी पत्ता लगाउने लगायत थुप्रै चुनौतीहरु रहने छन्

Related Articles

Back to top button