vada
News

अचानक बेहोस भएपछि मलेसियामै अस्ताए २१ बर्षिय नेपाली युवा!

मलेसिया ।
सप्तरीबाट रोजगारीको सिलसिलामा मलेसिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिए ।

परियोजना संयोजक यादवका अनुसार मलेसियाको सलेङ्गर जिल्लास्थित आई ४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार कम्पनीमा काम गर्दै गर्दा खाना खाने क्रममा अचानक उनी बेहोस भई ढलेका थिए । सो क्रममा उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको जनाइएको छ । तीन वर्षदेखि उनी मलेसियामा कार्यरत थिए ।

चार दिनअगाडि मात्रै मलेसियामै सप्तरीको बलान बिहुल गाउँपालिका–२ मलहनियाँ निवासी इन्दल यादवले मृत्यु भएको थियो । यादव तीन महिनाअघि मात्र वैदेशिक रोजगारीका लागि मलेसिया गएको थियो ।यस्तै डेढ महिनाअघि सप्तरीको राजविराज–१० बिरौल निवासी २५ वर्षीय विष्णुदेव मण्डलको पनि मलेशियामै मृत्यु भएको छ ।

गत चैत २ गते राति एक्कासि उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । तीनै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।

Related Articles

Back to top button
Close