फेरी यति धेरै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो तोलाको
काठमाडौं– मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएकोमा बुधबारका लागि ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको छ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९ सय ६० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ।
‘मोबाइल सेल्स’ को बिल भिसिटिएसमा इन्ट्री गराउनु पर्ने
घुम्ती बिक्री (मोबाइल सेल्स)बाट भएको कारोबारको बिल भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा अनिवार्य प्रविष्ट गर्नुपर्ने भएको छ।
व्यावसायिक प्रयोजनका मालवस्तुको आन्तरिक ओसारपसार सम्बन्धि निर्देशका संशोधन गर्दै आन्तरिक राजस्व विभागले घुम्ती बिक्रीबाट जारी भएका बिल अनिवार्यरूपमा भिसिटिएसमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरेको हो।
बिक्रेताले खुद्रास्तरको घुम्ती बिक्री गर्दा विभागले तोकेअनुसारको चलान प्रयोग गरी मौज्दात खाता स्थानान्तरण खातामा प्रविष्ट गरी त्यसको एकप्रति मालबाहक सवारी साधनमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ। त्यसरी बिक्री गरी फर्केपछिको मौज्दात स्थानान्तरण खातामा समेत प्रविष्ट गर्नुपर्छ भने जारी भएका बिल भिसिटिएसमा इन्ट्री गराउनुपर्छ।
सरकारले गत साउत १ गतेबाट भिसिटिएस प्रणाली कार्यान्वयनमा ल्याएको छ। राजस्व अनुसन्धान विभागले तयार गरेको यो प्रणालीमा हरेक कन्साइन्मेन्ट छुट्नु अघि विवरण प्रविष्ट गराउनुपर्छ। कन्साइन्मेन्ट तोकिएको ठाउँमा पुगिसकेपछि पनि डेलिभरीको जानकारी गराउनुपर्छ।