News

१४ वर्षीया किशोरीलाई कोरोना पुष्टि, आमा-बुबासहित तीनै जनालाई आइसोलेशनमा राखियो

दमौली, १४ असार । तनहुँकी १४ वर्षीया एक किशोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनका आमा–बुबासहित आइसोलेसनमा राखिएको छ ।

व्यास २ स्थित सत्यवती मा.वि. दमौलीको क्वारेन्टाइनमा राखिएको व्यास नगरपालिकाकी १४ वर्षीया किशोरीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतबाट आएपछि आफ्नो बाबुआमासँगै क्वारेन्टाइनमा बसिरहेकी किशोरीमा कोरोना पोजिटिभ देखिएपनि उनका बाबुआमा दुवैको रिपोर्ट नेगेटिभ आएको छ । छोरी एक्लै नछाड्ने भनेर बाबुआमाले नै जाने इच्छा गरेपछि छोरीसहित आमाबुबालाई पनि व्यास १ स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य अधिकारीले बाबु वा आमामध्ये एक जना मात्र जान सुझाए पनि दुवैले छोरीसँगै रहने निर्णय गरेपछि तीनै जनालाई आइसोलेसनमा राख्न अनुमति दिइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमोद सोतीले जानकारी दिए ।

‘किशोरीको साथमा एक जना मात्र बस्नु भनेपनि सानी उमेरकी छोरीलाई छाड्न बाबुआमानै तयार नभएपछि उनीहरु तीनै जनालाई सँगै बस्ने व्यवस्था मिलाइएको हो’ उनले भने ।

कोठा एउटै भएपनि संक्रमित र गैर संक्रमितलाई अलग्गै बस्न र एक अर्कालाई नछुनका लागि सचेत गराइएको उनले बताए । क्याम्पसको आइसोलेसनमा महिला नभएकाले पनि अभिभावकले छोरीको सुरक्षामा विशेष चासो राखेर सँगै बस्ने निधो गरेका हुन् । हाल आदिकविको आइसोलसनमा ३५ जना पुरुषलाई राखिएको छ ।

Related Articles

Back to top button
Close