vada
News

छ वर्ष देखि मलेसियामा बे’पत्ता छोरालाई बाबुको सन्देश: ‘छोरा यो म’हामारीमा त घर आउ, पैसा नभए बरु मै पठाउँछु

रामेछाप – ७० वर्ष हाराहारीका नरबहादुर सुनुवार खल्तीमा छोराको फोटो बोकेर एकाबिहानै उमाकुण्ड गाउँपालिका कार्यालय आइपुग्नुभयो । छोराको फोटो खल्तीबाट निकाल्नुभयो र भन्नुभयो, ‘मेरो छोरो मलेसियाबाट आएन, फर्काइदिनुपर्‍यो, तपाईँहरुले अहिले विदेशबाट मान्छे ल्याउन सहयोग गरिरहनुभएको छ रे नि ।’ पालिकाले गाउँबाट विदेश गएका युवाहरुलाई गाउँमा ल्याउन पहल गरिरहेको खबरले नरबहादुरको मनमा आफ्नो छोरो पनि फर्काइदिन्छन् कि भन्ने आश पलायो ।उहाँलाई लागेको छ, पालिकाले सहयोग गरेमा महामारीको बेला छोरो टुप्लुक्क घरमा आइपुग्छ । उहाँको मनमा आशा जगाउने थ्रुपै कारणहरु छन् । एक त ठाउँ ठाउँमा अहिले अरुका छोरा फर्किएका छन् । नेपालमा जस्तै परदेशमा पनि कोरोनाले काम र कमाइ भएको छैन होला भन्ने अनुमान पनि लगाउनु भएको छ उहाँले । गाउँघरमा कमाइ भएन, कमाएर फर्कन्छु भनेर परदेश गएको छोरो, कमाइ नहुँदा फर्कन्छ कि भन्ने आश पलाएको छ नरबहादुरको मनमा ।

नरबहादुरको घर रामेछापको गुप्तेश्वरमा पर्छ । सदरमुकाम मन्थलीबाट झण्डै पाँच घण्टा पैदल हिँड्नुपर्छ गुप्तेश्वर पुग्न । उब्जाउ हुने हो भने परिवारको भोक मेटाउन पुग्ने बारी छ गाउँमा । ७० वर्ष हाराहारीका श्रीमान श्रीमती बाहेक कोही छैनन् घरमा । हुनलाई त उनीहरु तीन भाइ छोरा र एउटी छोरीको धनी हुन् । तर बलिया पाखुरा हुनेहरु कोही छैनन् घरमा ।तीन भाइ छोराहरु सुखको खोजीमा शहर पसेका छन् । माइला छोरा धनबहादुर सुनुवार धन कमाउन मलेसिया गएको ६ वर्ष पुग्यो । गाउँमा हलो जोतेर बस्नुभन्दा मलेसिया गएर दुःख गर्छु भन्दै मलेसिया लाग्नुभएको थियो धनबहादुर । छोराको चाहना पूरा गर्न १ लाख ३५ हजार रुपैयाँ ऋण काढेर पठाउनुभयो नरबहादुरले । तर कमाउने र जमाउने आश देखाएर परदेशिएको छोरो आफैं बेखबर भएका छन् ।

काखे नातिनी छाडेर मलेसिया गएको छोराले गएदेखि नरबहादुरलाई एक पटक पनि फोन गरेका छैनन् । धनबहादुरकी छोरी अर्थात नरबहादुरकी नातिनी ९ वर्षकी भइन् । तर छोरो बेखबर भएपछि बुहारी पनि नातिनी च्यापेर शहर पसेकी छन् । छोराले किन फोन गरेनन्, किन आफ्नो माया मारे भन्ने त थाहा छैन सुनुवार दम्पतीलाई । तर बुवाआमाको मन न हो, परदेशमा अभर परेर पो हो कि फोन नगरेको भन्दै आमा नरमायाको मन थिरमा छैन । ‘पैसा कमाउन सकेपछि सञ्चै छु भनेर फोन मात्र गरे पनि हुन्थ्यो नि,’ नरबहादुर गुनासो गर्दै भन्नुहुन्छ, ‘फोनसमेत नआउँदा बाआमालाई त पीर पर्नेभयो नि, छोराछोरीले बुझ्दैनन् ।’

छोराको खोजी गर्न सहज होला भन्ठानेर छोरीलाई पनि मलेसिया जान सुझाउनुभयो उहाँले । तर धनबहादुरको खबर छोरीले पनि ल्याइनन् । गाउँका मान्छेहरुले नानाथरी कुरा सुनाउँछन् । ‘धेरैले उतैको केटीसँग बिहे गरेर बसेको होला त्यसैले घरमा नआएको होला’ भन्छन् । कसैले जेल परेर पो फोन गर्न पाएन कि भन्छन् । ‘मेलापातमा सुनेका कुरा घरमा आएर श्रीमतीलाई सुनाउँदा धेरै पीर मान्छे’ नरबहादुर दुखेसो पोख्नुहुन्छ । कोरोनाको महामारीमा राजदूतावासले विदेशमा समस्यमा परेकालाई घर पठाउन सहजिकरण गर्न विवरण सङ्कलन गरिरहेका छन् । फर्कनेको सूची पनि निकालिरहेका छन् । त्यो सूचीमा आफ्नो छोराको नाम पनि छ कि भन्दै नरबहादुर फेसबुक चलाउने जान्नेलाई खोज्न अनुरोध गरिरहनुहुन्छ ।

तर मलेसिया गएको भन्ने जानकारी भए पनि मलेसियाको कुन ठाउँमा के काम गर्छन् भन्ने कसैलाई थाहा छैन । खल्तीमा छोराको फोटो र मनमा एक भारी चिन्ता बोकेर धेरै ठाउँमा धाउनु भयो छोराको खोजीको लागि । यो महामारीबाट कतै छोरालाई नराम्रो असर पर्ला भन्ने चिन्ताले रातमा निद्रा न दिनमा भोक भएका नरबहादुर छोरा नेपाल फर्किएला भन्ने भरोसा चाहिँ बढेको छ । ‘बुढेसकालमा छोराको मुख नहेरी परे भने, आत्माले शान्तिसमेत पाउँदैन होला, मेरो छोरो भेटिएला त ?’ नरबहादुर मलिन अनुहार बनाउँदै भन्नुहुन्छ, ‘सबैको छोराहरु नेपाल आउन आतुर छन्, मैले मात्र कस्तो बैगुनी छोरो जन्माएछु ।’

खल्तीमा बोकेको मोबाइल फोनको घण्टी बज्दा पनि माइला छोराले फोन गर्‍यो कि भनेर झस्किने सुनुवार दम्पती एकैछिनमा निराश हुन्छन । ‘छोरा तिमी जहाँ भए पनि एककल मेरो मोबाइल नम्वर ९८६२७३२५०४ मा फोन गर,’ महामारी छ, रोग लाग्ला होस् गर,’ धनबहादुर छोरालाई आग्रह गर्दै भन्नुहुन्छ, ‘मिल्छ भने अरु साथीहरु जस्तै नेपाल फर्किएर आउ, बरु नेपाल आउने खर्च छैन भने म व्यवस्था गरिदिन्छु ।’ सिर्जना बस्नेत/ उज्यालो

Related Articles

Back to top button
Close