vada
News

गाडी नगुड्दै कालाेपत्रे भत्कियाे, कराेडौं रकम पानीमा

मन्थली । रामेछापको मन्थली नगरपालिकाको कराेडौं लगानीमा गरिएको कालोपत्रे ४ महिना पनि टिक्न सकेन । मन्थली बजारको देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क जोड्ने सडक कालोपत्रे भएर गाडी गुडेको चार महिनामै दुईपटक भत्किसकेको छ ।देवकोटा चोकबाट बसपार्कसम्म १ हजार ८ सय मिटर सडक कालोपत्रे गरी गत फागुनबाट एकतर्फी गाडी सञ्चालन गरिएको थियो ।लकडाउनको कारण गाडीहरु खासै गुडेका छैनन् तर कालोपत्रे उप्किएर मर्मत गरिएर पनि पुनः भत्किएको छ ।मर्मत गरिएको सडकको कालोपत्रे पुनः उप्किनुका साथै सो सडक खण्ड अन्तर्गत निर्माण गरिएको कजवे समेत भत्किएकाे छ ।

यसले गर्दा पानी जमेर यातायात सञ्चालन हुन नसकेपछि एकतर्फी सञ्चालन हुँदै आएको मन्थली बजारको बीच सडकबाटै सवारी दोहोरो सञ्चालनमा ल्याइएको छ ।कजवे भत्किएर ठाडो परेको रडले गाडीको टायर पञ्चर गराउने र पानी जमेको कारण मोटरसाइकल दुर्घटना समेत बढेकाेले एकतर्फी सञ्चालन हुँदै आएको यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।कजवेमा जमेको पानी खोल्दा स्थानीयको खेतमा लगाएको बाली नष्ट गर्ने भएकाले स्थानीयले समेत कजवेमा जमेको पानी खोल्न अवराेध गरेका छन् ।

यसले यातायात सञ्चालन गर्न नसकिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताएका छन् ।मन्थली बजारमा यातायात सहज बनाउनको लागि नगरपालिकाको लगानीमा निर्माण गरिएको सडकमा चार महिना पनि राम्रोसँग गाडी नगुड्नु नगरपालिकाको लागि लज्जास्पद विषय भएको स्थानीयको भनाई छ ।करोडौं लगानी गरेर निर्माण गरिएको सडकमा चार महिना पनि राम्रोसँग गाडी नगुड्दा आफूलाई दुःख लागेको मन्थली नगरपालिका प्रमुख बस्नेतले बताएका छन् ।सो सडक ४ करोड १७ लाख ७१ हजारमा खाम्पाचे नाइल जेभी कन्स्ट्रक्सनले ठेक्का पारेको थियो । सो रकममध्ये ४ करोड, ३ लाख ६९ हजार रुपैयाँ नगरपालिकाले भुक्तानी दिइसकेको छ ।

Related Articles

Back to top button