Video

खुशीको खबर: चितवनका युवाले बनाए इलेक्ट्रिकल कार, १ पटक चार्ज गर्दा १२० किमी गुड्ने (भिडियो सहित)

रत्ननगर । आकासमा उड्ने मिनी एयरक्राफ्ट बनाएर चर्चा कमाएका चितवनका युवा वैज्ञानिक सरोज चेपाङले विद्युतीय कार बनाएका छन् । राप्ती नगरपालिका वडा नं–२, गड्यौलीका २३ वर्षीय सरोजले प्यारामोटर, इन्जिनबाट चल्ने थ्री ह्वीलर कार, विद्युतीय भ्यानको सफल परीक्षणपछि विद्युतीय कार बनाउन सफल भएका हुन् । सीमान्तकृत चेपाङ समुदायका सरोज आफ्नै प्रयासमा आकासमा उड्ने उपकरण र सवारीसाधनसमेत बनाउन थालेपछि युवा वैज्ञानिकको रुपमा परिचित भएका थिए ।

सरोजले गरेको कामप्रति सरकारले समेत चासो दिएको छ । गाउँघरमा बिग्रेका रेडियो, टिभी मर्मत गर्ने सरोजले २०७२ सालतिर काठमाडौँमा वर्कशपमा कार र भ्यान मर्मतको काम गर्दथे । कार, भ्यान मर्मत गर्दागर्दै उनले आकासमा उड्ने उपकरणदेखि कार, भ्यानसमेत बनाउन सुरू गरेका हुन् । उनले २०७४ सालमा मिनी जहाजको रुपमा एयरक्राफ्ट बनाएर सफल परीक्षण गरेपछि उनी एकाएक चर्चामा आएका थिए । उनले सरोज चेपाङ परीक्षण तथा प्रशिक्षण केन्द्र स्थापना गरी काम गरिरहेका छन् ।

सरोजले पछिल्लोपटक चालकसहित पाँच जना अट्ने विद्युतीय कार बनाएका छन् । चाइनाबाट सामान ल्याएर बनाइएको सो कार ४ घन्टा चार्ज गरेपछि १२० किलोमिटर चल्ने उनले बताए । ‘चाइनाबाट सामान ल्याएर कार बनाएको हुँ’, उनले भने, ‘यो कार पनि बजारमा पाइनेजस्तै कार हो ।’ उनले आफूले बनाएको कार चढ्नेलाई मासिक ३० हजार रूपैयाँ बचत हुने बताए ।

उनलाई विद्युतीय कार बनाउन केन्द्रका सदस्यसमेत रहेका स्थानीय चिरञ्जीवी ओलीले सहयोग गरेका छन् । त्यसैगरी, सरोजले इन्जिनको सहायताले चल्ने कारसमेत बनाएका छन् । केन्द्रका सदस्यसमेत रहेका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. रामेश्वर अधिकारीले अर्डर गरेका कारण उनले अर्को कार बनाएका हुन् । बडीसमेत आफैँले बनाएर तयार गरिएको सो कारमा मोटरसाइकलको इन्जिन जडान गरिएको छ ।

एक लिटर पेट्रोलले ३५ किलोमिटर गुड्ने सो गाडीमा बडीको काम गर्न बाँकी छ । ७० प्रतिशत काम सकिएको उनले बताए । आफूभित्र रहेको प्रतिभालाई उजागर गर्न नसकेर पैसा कमाउन विदेशिने युवाका लागि सरोज दरिलो उदाहरण हुन् । राज्यले सहयोग गरे परीक्षण तथा प्रशिक्षण केन्द्रलाई फराकिलो बनाएर नेपालका सडकमा चल्ने विद्युतीय सवारीसाधनदेखि एयर एम्बुलेन्ससम्म बनाएर सञ्चालनमा ल्याउने उनले बताए ।

भिडियो हेर्नुहोस।

Related Articles

Back to top button
Close