News
ताप्लेजुङमा आगलागीबाट ८ घर जलेर नष्ट, ७ करोड बढीको क्षति
काठमाडौं । ताप्लेजुङकाे सदरमुकाम फुङलिङ बजारमा आगलागीमा परी ८ घर जलेर नष्ट भएका छन् भने २९ परिवार विस्थापित भएका छन्।
फुङलिङ नगरपालिका वडा नम्बर–५, पुरानो बैंक लाइनमा शुक्रबार रातीको आगलागीबाट ७ करोड ६५ लाख रुपैयाँ बराबरको क्षति भएको समेत प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘संस्थागत रूपमा २२ लाख ४७ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको र व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजारसमेत गरी जम्मा ७ करोड ६५ लाख ७२ हजार ७ सय रूपैयाँ क्षति भएको छ ।’
फुङलिङ नगरपालिकाले आगलागी पीडितलाई शनिबार प्रतिपरिवार २५ किलो चामल, दाल, नुन, तेललगायत सामाग्री वितरण गरेकाे छ भने रेडक्रस शाखाले त्रिपाल, कम्बल, भाँडा उपलब्ध गराएको छ ।