News

कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु

काठमाडौँ – कोरोनाभाइरसको सङ्क्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना कतारका भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।

यसैगरी एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विभिन्न देशमा १० हजारभन्दा बढी नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यान्मा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरियालगायतका १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ जना नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । संयोजक डा सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

नेपालका आठ हजार ६०५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४०२ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।

Related Articles

Back to top button
Close