उपेन्द्र यादव विदेशी ज्वाइँलाई पनि बिहेलगत्तै नागरिकता दिनुपर्ने पक्षमा
काठमाडौं । नागरिकता विधेयकको विषयमा नेपालमा राजनीतिक दलबीच विभाजन देखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहे गरेको सात वर्षपछि मात्र विदेशी बुहारीलाई नागरिकता दिनुपर्ने निर्णय गरेपछि विवाद चुलिएको हो ।आइतबार दिउँसो २ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा नागरिकता विधेयकबारे सहमति जुटाउने विषयमा छलफल हुने भएको छ । यदि सबै दलबीच सहमति नजुटे भोटिङका आधारमा निर्णय लिने नेकपाको तयारी छ ।राज्य व्यवस्था समितिमा नेकपाको बहुमत छ । त्यसैले कांग्रेस र जनता समाजवादी पार्टीले विपक्षमा भोट हाले पनि विधेयक बहुमतले पारित हुने र संसदमा जाने छ । आमसर्वसाधारण विदेशी बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिनुपर्ने पक्षमा भए पनि कांग्रेस र जनता समाजवादी पार्टीका सांसद त्यसको विपक्षमा उभिएका छन् ।
यसैबीच, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विदेशी बुहारी मात्र होइन, विदेशी ज्वाइँलाई पनि बिहेलगत्तै नागरिकता दिनुपर्ने पक्षमा उभिएका छन् । यादवले आइतबार ट्विटमार्फत आफ्नो धारणा राखेका हुन् । यद्यपि जसपाले आधिकारिक निर्णय गरिसकेको छैन । उनले बिहेको सात वर्षपछि मात्र विदेशी बुहारीलाई नागरिकता दिने सत्तारुढ नेकपाको निर्णयप्रति आपत्ति जनाएका छन् ।उनले लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगिकृत नागरिकता दिने विवेकहीन, साम्प्रदायीक र विभेदकारी निर्णय गरेको छ। नागरिकता प्राप्ति गर्ने प्रक्रीयामा पुरुष र महिला अर्थात बुहारी र जूवाई बीच असमानता र विभेद हुनुहुहुन्न ।’