vada
News

आज ५ देशबाट स्वदेश फर्कदै नेपाली ( हेर्नुहोस् कुन कुन देशबाट आउँदैछ )

काठमाडौं / विदेशमा समस्यामा परेका नेपालीलाई आज ५ वटा उडानमार्फत स्वदेश ल्याइने भएको छ । मलेसिया, कतार, साइप्रस, बंगलादेश र कोरियाबाट आज नेपालीहरु स्वदेश फर्कंदै छन् । साइप्रस मलेसिया र कतारको दोहाबाट नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भर्नेछन् भने बंगलादेशबाट हिमालय एअरलाइन्सले नेपालीलाई ल्याउनेछ ।

यस्तै आज कोरियाबाट पनि कोरियन एअरलाइन्समार्फत २२६ जना नेपालीहरु स्वदेश फर्कर्दैछन् । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ ।

तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले बताउनुभयो ।

यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वरेण्टिन र क्वरेण्टिन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने बताइएको छ । यो जहाजमार्फत १६१ जना आजै कोरिया फर्कनेछन् ।

कोरियाबाट बिदामा आएका, साथमा भिसाको अवधि भएका र श्रम स्वीकृति भएका नेपालीहरु फर्कन लागेको इपीएस कोरिया शाखाले जनाएको छ । साउदीको दमामबाट हुने भनिएको हिमालय एअरलाइन्सको चार्टर्ड उडान भने रद्द भएको छ ।

त्यस्तै सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जान चाहनेलाई पनि अनुमति दिने निर्णय गरेको हो।

सिसिएमसीले वैदेशिक रोजगारीमा रही बिदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश जानेहरूको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेयता वैदेशिक रोजगारीमा जाने क्रम ठप्प छ। विश्वभर कोरोना भाइरस फैलिएपछि अहिले सरकारले खाडीसहितका मुलुकबाट धमाधम उद्धार गरिरहेको छ। सरकारले शुक्रबारसम्म करिब २८ सय नागरिकलाई उद्धार गरेर ल्याइसकेको छ।

त्यस्तै सिसिएमसीको बैठकले अध्ययनका लागि जानेहरूको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस गर्ने निर्णय पनि गरेको छ।

यस्तै विदेशमा रहेका नेपाली कुटनीतिक नियोगका कर्मचारीहरुका परिवारका सदस्यहरुलाई आवश्यक ‘प्रोटोकल’सहित जान छुट दिने निर्णय पनि सिसिएमसीले गरेको ज्ञवालीले बताए।

सिसिएमसीले सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने तथा आफ्नो खर्चमा नेपाल आउन नसक्ने श्रमिकहरुको हकमा सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ।

Related Articles

Back to top button
Close