vada
News

कैलालीमा कोरोनाबाट एक महिलाको मृत्यु

४ असार, धनगढी ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको बुधबार मृत्यु भएको हो । जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय लम्की चुहा अस्पतालमा भर्ना हुन आएकी थिइन् । अस्पतालले उनलाई धनगढी रिफर गरेको थियो ।

त्यसपछि धनगढीको माया मेट्रो अस्पतालले कोहलपुर मेडिकल कलेजमा रिफर गरेको लम्की चुहाका मेयर महादव बजगाईंले जानकारी दिए । मेयर बजगाईंका अनुसार मृत्युपछि भेरी अस्पतालको प्रयोशालामा भएको थ्रोट स्बाव परीक्षणमा कोरोना पुष्टि भएको हो ।

‘उनको दाहसंस्कार उतै गरिने भएको छ’ मेयर बजगाईंले भने, ‘यता लम्कीचुहा अस्पताललाई सिल गरेका छौं । मृतकको सम्पर्कमा आएका सबैको खोजी गरिरहेका छौं ।’ त्यस्तै कोरोना भाइरसको संक्रमणबाट बुधबार मृत्यु भएका कैलाली गोदावरी नगरपालिका ४६ वर्षीय बस व्यवसायीको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाली सेनाको सहयोगमा मोहना नदीमा उनको दाहसंस्कार गरिने भएको छ । कैलाली जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सख्या तीन पुगेको छ । यसअघि सेती प्रादेशिक अस्पतालमा धनगढी–४ की एक महिलाको मृत्यु भएको थियो ।

Related Articles

Back to top button
Close