vada
News

बैतडीमा एकै परिवारका चार दिदिबहिनी सेना–प्रहरीमा !

बैतडी । बैतडीमा एकै परिवारका चार दिदीबहिनी सुरक्षा निकायमा सेवारत छन्। आठ दिदी बहिनीमध्ये तीन बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन् । दुई बहिनी मध्ये एकले नेपाल प्रहरी र अर्कीले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छन्। बाँकी दुई जना शिक्षण पेसामा छन्।

बैतडीको मेलौली नगरपालिका–७, गाउँकोटका आठ दिदीबहिनीले प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मको पढाइ पूरा गरेका छन्। भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दले छोराको आसैआसमा आठ छोरीको मुहार देखेका थिए। नेपाल प्रहरीमा कार्यरत सरिता चन्दले भन्नुभयो, “लाहुरेको घरमा छोरा जन्मेन भनेर गाउँ समाजले कुरा काट्थे रे। छोराको आसमा प्रत्येक दुई वर्षको अन्तरालमा हामी जन्मिएछौँ।”

जेठी बबिता चन्द र माइली मञ्जु चन्द गाउँकै विद्यालयमा शिक्षक हुनुहुन्छ। मुन्नी चन्द, इन्द्रा चन्द र अनिता चन्द नेपाली सेनामा कार्यरत हुनुहुन्छ। मनिसा चन्दले नेपाल प्रहरी र अमृता चन्द नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा हुनुहुन्छ । सरिताले भन्नुभयो, “अहिले पनि नेपाली समाज छोराको खोजी हुन्छ, त्यो बेला बैतडीको दुर्गम गाउँमा कस्तो थियो होला ?” छोराको आशमा करवीर चन्दले देवी देउताको भाकल र पूजा त धेरै नै गर्नुभएको थियो। तथापि यतिबेला चाहिँ छोरीको सफलता देखेर उहाँ खुसी हुनुहुन्छ। सरिताले भन्नुभयो, “अहिले बुवाआमामा छोरा नहुँदाको पछुतो छैन।” साभार: गोरखापत्र

Related Articles

Back to top button