vada
News

फोहोरका गाडी तोडफोड गर्ने कांग्रेस, माओवादी केन्द्र, नेकपा एसका नेताहरुविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडौं ।

फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।

नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भीषण धितालगायतविरुद्ध उजुरी परेको हो ।

उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गराउन अरुलाई उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक(एसपी) रमेश पण्डितले जानकारी दिए ।

गत सोमबार राति बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडी तोडफोड गरिएको थियोे। धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।

यसैबीच केहीबेरको अवरोधपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ ।

फोहर बोकेर गएको गाडीलाई दिउँसो त्यहाँका स्थानीयवासीले रोके पनि अहिले सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने काम चलिरहेको छ ।

काठमाण्डौबाट गएका र नुवाकोटकै गरी दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मीले अहिले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सुरक्षा दिइरहेका छन् ।

अहिलेसम्म ५५ वटा गाडीभन्दा धेरै फोहर फालिएको नुवाकोट प्रहरीले जनाएको छ । दिउँसो स्थानीयवासीकाे अवरोध खुलाउन पुगेका प्रहरी र उनीहरूबीच सामान्य झडपसेमत भएको थियो ।

काठमाण्डाै महानगरले आज दुई सय वटाभन्दा धेरै गाडी फोहर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा अहिलेसम्म ५५ वटाभन्दा धेरै गाडीको फोहर झारिएको छ ।

बाँकी फोहोर पनि फाल्ने काम चलिरहेको छ । काठमाण्डौ महानगरपालिकाले आज नेपाल टिपर व्यवसायी सङ्घसँग डिजल र चालक भत्ता दिने गरी दुई सय वटाभन्दा धेरै टिपर भाडामा लिएर बञ्चरेडाँडामा फोहर पठाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

अवरोधका कारण भाडाका टिपरले पनि दिउँसो फोहोर फाल्न पाएका थिएनन् । अहिले सुरक्षाकर्मीको सहायतामा फोहर फाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।

स्थानीय सङ्घर्ष समितिले सरकारसँग सहमति गरेर आन्दोलन फिर्ता लिइसकेको भए पनि आज फेरि केही स्थानीयवासीले फोहर फाल्न अवरोध गरेका हुन् । स्थानीयवासीको आन्दोलनमा सबैजसो दलले पनि साथ दिएका छन् ।

Related Articles

Back to top button