काठमाडौं ८ मा सय मत गन्दा केशव स्थापितलाई एक मत
काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले मात्रै १ मत पाएका छन्।
जयवागेश्वरी क्षेत्रको सय मत गणना गर्दा स्थापितले एक मत पाएका हुन्। गणना गरिएका मतमध्ये नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४७ मत ल्याएकी छन्।
मतगणनाको सुरुवातबाटै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २२ मत पाएका छन्। वडा नम्बर ८ मा गणना भएका सय मतमध्ये कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ६८ मत पाएका छन्। एमालेका उम्मेदवारले कुनै मत पाएका छैनन्।
मतगणनास्थलमा पहिलोपटक पुगिन् सिर्जना सिंह
राष्ट्रिय सभागृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनास्थलमा कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह पहिलोपटक आज पुगेकी छन् । काठमाडौंको वडा नम्बर ८ को मतगणना सुरु भएर त्यसमा उनले अग्रता लिएकै बेला सिंह मतगणना स्थल आएकी हुन् ।
सभागृहभित्र प्रवेश गर्ने क्रममा म्यादी प्रहरीले केहीबेर उनलाई रोकेका थिए । सिर्जनाले बोकेको ब्याग भित्र लैजान नपाउने म्यादीले बताएपछि उनी ब्याग बाहिरै छाडेर भित्र पसिन् ।
सिर्जनाले आफू मतगणना कसरी भइरहेको छ भनेर हेर्न आएको प्रतिक्रिया दिएकी छन् ।
शनिबारबाट सुरु भएको मतगणनाको छैटौं दिन कांग्रेस उम्मेदवार सिंह पहिलोपटक मतगणनास्थल आएकी हुन् । एमाले उम्मेदवार केशव स्थापित भने अहिलेसम्म आएका छैनन् ।
बालेनले २२ हजार ८४२ मतसहित अग्रता बनाएका छन् । एमालेका केशव स्थापितको ११हजार ७६९ मत छ । यस्तै काँग्रेस उम्मेदवार सिर्जनाले १० हजार ९८६ मत पाएकी छन् ।