News

८३ दिनपछि सकियो लकडाउनः आजदेखि नयाँ नियम, हेर्नुहोस् के के गर्न पाइन्छ

कोरोना भाइरसका कारण गत ११ चैतदेखि लागू गरिएको लकडाउन आज मध्यरातदेखि सकिँदै छ ।

८३ दिन लामो लकडाउन भएपछि सरकारले लकडाउन खुकुलो बनाउने विभिन्न चरणका रणनीति तय गर्दै भाखा राखेर गर्दै आएको लकडाउन हटाएको छ ।

अब भोलिदेखि सरकारले मिति तोकेर लकडाउन गर्ने छैन । तर, सरकारले तय गरेको मापदण्ड पालना गरेर व्यापार व्यवसाय भने चलाउन पाइनेछ । त्यस्तै, शैक्षिक संस्थासहित १० प्रकारका गतिविधिमा भने लकडाउन कायम रहनेछ ।

सरकारले लकडाउन अन्त्यको घोषणा नगरे पनि सार्वजनिक सवारीसाधन, नियमित हवाई उडान, चारपाङ्ग्रे सवारीसाधनमा ३ जनाभन्दा बढी चढ्न नपाइने नियम भने यथावत् राखेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार सार्वजनिक सवारीसाधनले पुरानै भाडा दरमा दूरी कायम गरेर सवारी चलाउन मान्ने हो भने त्यस्तालाई पनि अब अवरोध हुने छैन ।

उनले भने, ‘लकडाउन यति दिन लम्बियो भन्ने मात्र नभएको हो, सरकारले तय गरेको रणनीतिअनुसार लकडाउन जारी छ तर खुुकुलो अवश्य भएको छ ।’

उनका अनुसार चारपाङ्ग्रे सवारीमा ३ जनाका साथै भोलिबाट मोटरसाइकलमा पनि जोर बिजोर भने लागू हुनेछ ।

ट्राफिक महाशाखा प्रमुख भीम ढकालले पनि भोलिदेखि मोटरसाइकलमा पनि जोर बिजोरको नियम लागू हुने बताए । सरकारले मोटरसाइकलमा एक जना मात्र चढ्न दिने निर्णय यसअघि नै गरिसकेको छ ।

मन्त्री ढकालका अनुसार अब दैनिक जीवनलाई सहजीकरण गरी लकडाउनको मोडालिटी भने खुकुलो हुँदै जानेछ । उनले लकडाउन खुकुलो भए पनि संक्रमण देखिएका ठाउँमा भने सिल गरेर पनि नियन्त्रणमा लिन सकिने बताए ।

उनका अनुसार भोलिदेखि बुढाबूढी, केटाकेटीलाई पर्याप्त सुरक्षाबिना हिँडडुलमा लगाइएको प्रतिबन्ध भने कायम नै छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लडाउनको ८३ दिनपछि आजदेखि सबै कार्यालय खुल्ने भएका छन् ।

लकडाउनले सर्वसाधारणको दैनिकी कष्टपूर्ण भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी आजदेखि खुल्न लागेका हुन् ।

आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र संघसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालय खुुलाउनु आवश्यक थियो ।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने तयारी गरिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले सरकारले बनाएको आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सोमबारदेखि सबै सेवा सुचारू गर्न लागिएको बताए ।

कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउनमा परेर पढाइअवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।

विद्यार्थीले अब शिक्षण सिकाइमा प्रयोग हुने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन अध्यापन निरन्तर गर्नेछन् । निजी क्षेत्रका कतिपय विद्यालयले भने वैशाखबाटै विद्युतीय माध्यमबाट पठनपाठन सुरू गरिसकेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लामो समयसम्म अवरुद्ध पठनपाठनबाट पुग्न जाने शैक्षिक क्षति न्यून गर्न अपरिहार्य भएको भन्दै विद्यालय जाने उमेर समूहका विद्यालयलाई असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरू गरिने २८ जेठमा घोषणा गरेका थिए ।

विद्यार्थीको पठनपाठन प्रभावकारी बनाउन मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहज बनाउन निर्देशिका जारी गरिसकेको छ । निर्देशिकाले विद्यार्थीलाई वर्गीकरण गर्नुका साथै स्थानीय सरकार, विद्यालय तथा शिक्षकले वैकल्पिक शिक्षाको पठनपाठनमा सहयोग गर्नुपर्ने कामका बारेमा स्पष्ट गरिएको छ ।

Related Articles

Back to top button
Close