कोरोनाको बिमा गराएका एक जनाले पहिलो पटक भुक्तानी पाए
काठमाडौं, ३० जेठ । कोरोना बिमा कार्यक्रम अन्तरर्गत एक जनाले पहिलो पटक भुक्तानी पाएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७७, ७८ को बजेटमा कोरोना बिमा कार्यक्रम राखेको थियो । सो कार्यक्रम अन्तरर्गत कृषि विकास बैंकमा काम गर्ने एक जना कर्मचारीले पहिलो पटक भुक्तानी पाएका छन् ।
कोरोना प्रभाव बढ्न थालेपछि सरकारले कोरोना बिमा कार्यक्रम ल्याएको थियो । तर अधिकांश बिमा कम्पनीले त्यो कार्यक्रम लागू गर्न नसक्ने बताएका छन् । तर शुक्रवार एक जना नागरिकले भने सोही कार्यक्रम अन्तरर्गत पहिलो पटक भुक्तानी पाएका हुन् । कृषी विकास बैंकका कर्मचारीले कोरोना बिमा बापत एक लाख रुपैया भुक्तानी पाएको बताइएको छ ।
नेको इन्स्योरेन्स मार्फत उनले भुक्तानी पाएका हुन् । बिमा समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो ।
परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो । बिमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमा दाबी भुक्तानी हुने बताइएको छ ।
डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’
जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घरफर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ ।
अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा ज्योति पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ, उहाँमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ ।”
सङ्क्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि उहाँका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पिसिआर परीक्षण गरिएको थियो । दुवैकोे नतिजा नेगेटिभ देखिएको थियो । डोटीका थप पाँचजना अन्य सङ्क्रमित आइसोलेशनमा राखिएको छ ।