News

विदेशबाट यी समान बोकेर फर्कँदै हुनुहुन्छ ? बढ्यो भन्सार शुल्क, टेलिभिजन र रक्सी कति ल्याउन पाइन्छ ?

काठमाडौं । सरकारले कोरोना भाइरसका कारण विदेशमा रोकिएका नागरिकका उद्दार थालेको छ । यसको केही समयपछि सम्भवतः नियमित उडान पनि सूचारु हुनेछ ।

यसअवस्थामा सुन र त्यसको गहना बोकी साविककै मूल्यमा भन्सार तिर्ने गरी आउँदै हुनुहुन्छ भने विमानस्थलमा तपाईलाई समस्या पर्न सक्छ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटबाट सुनमा भन्सार महसुल बढाएको छ ।

यसको असर विमानस्थलमा यात्रुले साथमै बोकेर आउने सुनमा समेत पर्नेछ । अब विमानस्थलमा साविकको तुलनामा सुनको भन्सार बढी तिर्नुपर्ने भएको छ । सरकारले चालु आवको बजेटबाट १ सय ग्रामसम्मको सुन साथमा ल्याउन सक्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ ।

तर, त्यस्तो सुन भित्र्याउँदा विमानस्थलमा भन्सार तिर्नुपर्छ । यसरी तिनुपर्ने शुल्क आगामी आर्थिक वर्षको बजेटले बढाएको हो ।

सुनको हकमा के हुन्छ ?

तपाईले १ सय ग्रामसम्म सुन साथमा ल्याउन पाउनुहुन्छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको सुनलाई प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ भन्सार महसुल तिरे तिर्नुपर्छ ।

अर्थात् पहिलो ५० ग्राम सुन ल्याउँदा ४७ हजार ५ सय भन्सार महसुल तिरेर भित्राउन पाइने भएको छ ।

पछिल्लो ५० ग्राम सुनको हकमा भने प्रति १० ग्राम १० हजार ५ सय भन्सार महसुल तिरेर ल्याउन पाइने भएको छ ।

सुनको गहनाको हकमा के हुन्छ ?

विदेशबाट फर्कदा सुनका गहना ५० ग्रामसम्म भन्सार नतिरी ल्याउन पाइनेछ । यो साविककै व्यवस्था हो । तर, त्यो भन्दा बढी अधिकतम २ सय ५० ग्रामसम्म भन्सार तिरेर गहना भित्राउन सकिनेछ ।

यात्रुले ल्याएको ५० ग्रामसम्मको गहनालाई विमानस्थल भन्सारले सिधै पास गर्नेछ । ५० ग्रामदेखि माथि १ सय ग्रामसम्मको गहनालाई प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ । १ सय ग्रामभन्दा माथि थप एक सय ग्रामको सुनको गहनालाई भने प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार महसुल तिरेर साथमा ल्याउन सकिनेछ । तोकिएको परिणामभन्दा बढी ल्याएको सुन भने भन्सारले जफत गर्ने भन्सार विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

भन्सार छूटमा के के सामान ल्याउन पाइन्छ ?

यात्रुले लुगाफाटा, वरविच्छ्यौना, घर गृहस्थीका सामान र पुराना सामानलाई कर नतिरी नेपाल ल्याउन पाउँछन् । औषधी उपचार गराई फर्केका बिरामीले ल्याएका औषधी समेत कर नतिरी ल्याउन पाइन्छ ।

शारीरिक रुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गर्ने सामानमा पनि भन्सार लाग्दैन । यात्रुले आफ्नो साथमा ट्यावलेट वा कम्प्यूटर वा ल्यापटप, घडी, क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ एक-एक थान ल्याउन चाहेमा समेत भन्सार लाग्दैन ।

बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एकथान, पेशागत यात्रुले प्रयोग गरी ल्याएका सामान्य प्रकारका सामान (चिकित्सक, खेलाडी, संगीतकारलगायतले प्रयोग गर्ने सामान) एकएक थान बोकेर आउँदा समेत भन्सार नलाग्ने व्यवस्था मिलाइएको छ ।

टेलिभिजन र रक्सीमा के हुन्छ ?

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तिमा लगातार १२ महिना विदेशमा काम गरी र्फकने नेपाली यात्रुले एक पटकका लागि ३२ इन्चसम्मको एउटा टेलिभिजन सेट निःशुल्क ल्याउन पाउने भएका छन् ।

त्यो भन्दा माथिको टेलिभिजन सेट ल्याएमा भने दरवन्दीअनुसार नै भन्सार तिर्नुपर्ने कार्यालयले स्पष्ट पारेको छ ।

हरेक यात्रुले आफ्नो साथमा एक लिटरसम्मको मदिराको बोतल ल्याउन सक्ने प्रावधानलाई निरन्तरता दिइएको छ । ७ किलोसम्मको खाद्य परिकारमा पनि भन्सार लाग्दैन ।

भन्सार तिरेर के ल्याउन पाइन्छ ?

यात्रुले सरकारको तोकेको भन्सार महसुल तिरेर आफ्नो साथमा थप सामान ल्याउन पाउने भएका छन् ।

भन्सार तिरेर म्यूजिक सिस्टम, रेफ्रिरेटर, वासिङ मेसिन, पंख्या, रेडियो, सिठि प्लेयर र डिभिसी प्लेयर एक/एक थान साथमा ल्याउन पाइने भएको छ ।

लुगाफाटो, जुत्ता, कस्मेटिक सामान बढीमा १५ थानसम्म भन्सार तिरेर ल्याउन सकिने भएको छ ।

घरायसी प्रयोगका सामान (मिक्स्चर, जुसर, सिलाई मेसिन, ग्याँसटेबुल, इस्त्री, राइसकुकुर लगायत)सामान दुई/दुई थानसमेत भन्सार तिरेर नेपाल ल्याउन पाइने भएको छ ।

१० किलोसम्मको खाद्य परिकार, व्यवसायिक पेशामा लागेका व्यक्तिका प्रयोगका सामान दुई/दुई थानमा समेत भन्सार तिरेर ल्याउन सकिने भएको छ । अन्य घरासयी प्रयोगका सामान बढीमा दुई/दुई थान सामान समेत कार्यालयले भन्सार लिएर पास गर्ने भएको छ ।

Related Articles

Back to top button
Close