News

अस्पतालमै भटाभट देखिन थाले कोरोना संक्रमित, स्थिति काबु बाहिर जाने संकेत

काठमाडौं । केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमित तीव्र ढंगले बढिरहेका छन् । मंगलबार बिहानसम्म झन्डै ३८ सय संक्रमित फेला परेको पुष्टि भइसकेको छ । एक महिनाअघिसम्म भारतबाट आएका नेपाली नागरिकमा मात्र कोरोना देखिएको थियो । तर, पछिल्लो समय समुदायमा पनि विस्तार भइसकेको छ । भारतमा नर्सरीका रूपमा बढिसकेपछि नेपाल आएका दर्जनौंको क्वारेन्टिन र आइसोलेसनमा मृत्यु भइरहेको छ ।

पछिल्लो समय भने अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण फैलिरहेको छ । जसलाई चिकित्सकहरूले गम्भीर स्थिति भन्दै सतर्कता अपनाउन सल्लाह दिएका छन् । नेपालमा कोरोनाबाट मृत्यु भएकी महिलालाई अस्पतालमै संक्रमण फैलिएको बताइएको थियो । हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भइसकेको छ । जसमध्ये मृत्यु भएपछि कोरोना पुष्टि हुनेको संख्या १३ रहेको छ ।

एक सातायता काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नेपालगन्ज, पर्सा, रुपन्देही, बाँकेलगायतका जिल्लामा रहेका अस्पतालमा उपचाररत विरामीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उपचाररत विरामी विभिन्न रोगबाट पीडित हुन्छन् । यदि अहिलेकै अवस्थामा अस्पतालमा संक्रमण फैलिँदै गएमा परिस्थिति काबुभन्दा बाहिर जाने भन्दै स्वास्थ्य विज्ञहरूले सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गर्दै आएका छन् ।

अस्पतालमा एकजना कोरोना संक्रमित भेटिनु भनेको उसले सयौंलाई संक्रमण फैलाउने सम्भावना हुन्छ । किनभने त्यो विरामीमा डाक्टर, नर्स, कर्मचारी, कुरुवा, आफन्तलगायत सम्पर्कमा रहेका हुन्छन् । सोमबार मात्रै चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्लावासी त्रसित बनेका छन् ।

Related Articles

Back to top button
Close