vada
News

पूर्व राजाको सचिवालयले भर्खरै निकाल्यो महत्वपूर्ण बिज्ञप्ति : ज्ञानेन्द्र र हिमानीको बारेमा कस्ले गर्यो यस्तो ?

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।’

त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनपछि ज्ञानेन्द्र र हिमानीको नाममा सञ्चालित ट्वीटर तथा फेसबुकहरूबाट स्टाटस सम्प्रेषण भइरहेका थिए।

समकक्षी नेता राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा पराजित गरेपछि राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पनि ज्ञानेन्द्र र हिमानीको नाममा सञ्चालन गरिएका ट्वीटरलाई ‘मेन्सन’ गरी असन्तुष्टि पोखेका थिए। पूर्वाराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले बिहीबार विज्ञप्ति जारी गरी ती कुनै पनि सामाजिक सञ्जाल उनीहरूले नचलाएको प्रष्ट्याएका छन्।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवले राष्ट्रिय समसामयिक घटना सन्दर्भ, राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखी बक्सनु स्वाभाविक हो,’ पाठकद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ, ‘तर, मौसुफले ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ।’

पाठकले पठाएको विज्ञप्तिमा त्यस्तो भ्रमबाट मुक्त रहन आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन अनुरोध गरिएको छ। पाठकले विज्ञप्तिमा भनेका छन्, ‘श्री ५ हिमानी राज्यलक्ष्मी देवी शाहबाट ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ।’

राप्रपा महाधिवेशनमा पराजित भएपछि थापाले निर्मल निवासले हस्तक्षेप गरिरहेको बताएका छन्। तर, पूर्वराजाका संवाद सचिव पाठकले त्यसप्रति भने कुनै प्रसंग उल्लेख गरेका छैनन्।

राप्रपा महाधिवेशनपछि पूर्वयुवराज पारस शाहको नामबाट खोलिएको ट्वीटर पनि देखिएको छ। ती ट्वीटर अकाउन्ट पूर्वराजाको सचिवालयका मान्छेहरूले चलाउने गरेको दाबी गरिएको पनि छ। तर, सचिवालयबाटै ती अकाउन्टबारे खण्डन गरिएकाले कसले चलाउँछ भन्ने अनुसन्धानको विषय भएको छ।

Related Articles

Back to top button