vada
News

चुनाव हारेपछि कमल थापाको रुवावासी !

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा लामो समय अध्यक्ष रहेका कमल थापा पछिल्लो महाधिवेशन पछि पराजित भएका छन् । आफ्नो विरासत ढलेपछि थापाले दिनहुँ आ क्रो श पोखिरहेका छन् । निर्वाचनको परिणाम घोषणा हुनासाथ उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हस्तक्षेप गरेको आरोप लगाए । उनले ज्ञानेन्द्रका कारण आफु पराजित भएको भन्दै अब राजतन्त्रको एजेण्डा नबोक्ने घोषणा समेत गरे ।

मंगलवार पनि उनले फेरी विज्ञप्ती जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र प्रति आ क्रो श पोखेका छन् । पूर्व अध्यक्ष कमल थापाले पार्टीको आन्तरिक चुनावमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भत्सर्ना र निन्दा गरेका छन्। उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्मल निवासको हस्तक्षेपलाई पहिलो घटना नभएको भन्दै यसअघि २०७४ सालमा पार्टी फुटाउन पनि भूमिका निभाएको दाबी गरे।

‘निर्मल निवासको हस्तक्षेप यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ’, थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले आफ्नो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशका रूपमा नबुझ्न आग्रह गरेका छन्। ‘मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ’, उनले भनेका छन्।

उनले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि आफ्नो र राप्रपाको आधारभूत मान्यता माथि नै गम्भीर आघात पुगेको बताएका छन्।

‘नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दामाथि उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहिरहने छ’, उनले अगाडि भनेका छन्,‘राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं।’

अहिले शत प्रतिशत राजावदी भएको पार्टीमा राजाको ठाडो हस्तक्षेप भएको जिकिर गर्दै अन्य पार्टी र राजनीतिमा पनि राजाको हस्तक्षेप हुनसक्ने दाबी गरे।
अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ। विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ? ,’ उनले प्रश्न गरेका छन्।

अत्यन्त प्रतिकुल अवस्थामा पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको आफूलाई अहिले परेको पिर यहीँ हो भन्दै थापाले भने,‘म नैतिक र धर्मसंकटमा परेको छु।’

‘यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ। राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिनेछैनौं,’ उनले भनेका छन्।

राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुने उनले बताए। यस्तै उनले महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन्। महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सम्पूर्ण पदाधिकारी र सदस्यलाई बधाई र सफल कार्यकालको निम्ति शुभकामना दिएका छन्।

महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको भन्दै विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुँदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुँदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको बताए।

Related Articles

Back to top button