News

एसईई परीक्षा जेठ अन्तिममा [ जानकारीको लागि सक्दो शेयर गरौँ ]

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । स्रोतले भन्यो, ‘असार १५ सम्म सक्ने गरी परीक्षा गर्न सकिन्छ ।’

साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ । एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् । चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ५ गते बेलुकी मात्र एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो ।

अब परीक्षा गर्दा परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने कार्यदलको सिफारिस छ । यसो गर्दा पनि हिमाली र पहाडी जिल्लाका कतिपय विद्यालयलाई परीक्षा केन्‍द्रको मान्यता दिइनेछ । ‘केन्द्राध्यक्ष र निरीक्षक त्यही विद्यालयको नहुने हुँदा समस्या हुँदैन’ मन्त्रालयका एक अधिकारीले भने ।
साथै परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ । कार्यदलकाअनुसार कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुन्छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button
Close