News

६ देशबाट ४० हजार नेपाली फर्किंदै, हेर्नुस् कुन देशबाट कति नेपाल फर्किँदैछ

काठमाडौं २४ जेठ / नेपालका लागि रोजगारीका प्रमुख गन्तव्य मानिएका ६ मुलुकबाट मात्रै झण्डै ४० हजार नेपालीलाई फर्काइने भएको छ। यी देशस्थित नेपाली दूतावासले तत्काल फर्किनुपर्ने नेपालीको विवरण संकलन गरेर पठाएका छन्।

कतार, मलेसिया, साउदी अरब, यूएई, बहराइन र ओमानबाट मात्र ३९ हजार ४ सय २० जना फर्किनै पर्ने अवस्थामा रहेको दूतावासहरुको तथ्यांक छ। विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने भनिएपनि कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले पहिलो चरणमा रोजगारदाता र सम्बन्धित देशले नै फर्काइदिने निर्णय गरेसँगै युएई र म्यानमारले हिजो आफ्नै खर्चमा नेपालीलाई स्वदेश ल्याइलिएको हो ।

दूतावासहरुले परराष्ट्र मन्त्रालयमा दिएको जानकारी अनुसार सबैभन्दा बढी युएईबाट नेपाली फर्किने छन्। यूएईमा मात्रै १७ हजार ३ सय ७५ जना नेपाली फर्किनुपर्ने अवस्थामा छन्। यस्तै कतारबाट ८ हजार ३ सय ७० जना नेपालीले फर्किन फारम भरेका छन्।

साउदीबाट ६ हजार ५ सय ४४ जना र मलेसियाबाट ६ हजार २ सय नेपाली फर्किने भएका छन्। यस्तै ओमानबाट ६ सय ५६ र बहराइनबाट २ सय ८५ जना नेपालीले फर्किन फारम भरेका छन्।

कुवेतबाट आममाफी पाएका तीन हजार र अन्य ५ हजारजति फर्किने आंकलन गरिएको छ। तर त्यहाँको अन्तिम तथ्यांक प्राप्त भइसकेको छैन।

Related Articles

Back to top button
Close