vada
News

संक्रमितले भरियो टेकु अस्पताल, खतरा बढेपछि प्रशासनले जारी गर्यो यस्तो सूचना

काठमाडौ । पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा फेरी संक्रमित बढ्न थालेका छन् । काठमाडौको अस्पतालहरुका वेड संक्रमितले भरिन थालेका छन् । एक सातादेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएको चिकित्सकहरुले बताएका छन्। टेकु स्थित अस्पतालमा संक्रमितका लागि ४० वेड छुट्याइएको छ । ति सबै वेड संक्रमितले भरिएका छन् ।

अस्पतालका निर्देशक अनुप वास्तोलाका अनुसार २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको छ। जसमा २० भन्दा बढी बिरामीलाई भेन्टिलेटरको सहायता दिनु परेको छ ।

उनका अनुसार अस्पतालमा संक्रमितको चाप एक सातादेखि बढेको हो। त्यसअघि भने अस्पतालमा जम्मा ३५ देखि ४० जना संक्रमित उपचाररत् थिए। अहिले ७० बढी संक्रमितको उपचार भइरहेको छ । एक सातायता संक्रमितको संख्या झन्डै दोब्बरले वृद्धि भएको भन्दै यसले तेस्रो लहर प्रवेशको संकेत गरेको बताए।

अस्पताल संक्रमितले भरिन थालेपछि जिल्ला प्रशासन कार्यालयले पनि सतर्कता अपनाउन आग्रह गर्दै विज्ञप्ती जारी गरेको छ । दिनहुँ महामारीको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, सम्मेलन, धर्ना, जुलुस र र्‍याली लगायतका भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । मंगलवार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा कोभिडको नयाँ भेरियन्टका संक्रमित थपिन थालेका छन् ।

बढि संक्रामक मानिएको कोभिडका संक्रमित बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालयले भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर बढाउन सक्ने भएकाले स्वास्थ्य मापदण्डको ख्याल गर्न आग्रह गरेका हुन् ।

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

Related Articles

Back to top button