vada
News

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन, यस्तो थियो उनको इतिहाँस

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ। काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गएराति उनको निधन भएको हो ।

उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन।

२०६३ सालमा उनका बारेमा `५६ वर्षपछि……..` नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो । नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

संगीतमा रूची भएकी अधिकारीले शास्त्रीय संगीतमा आइए समेत गरेकी थिइन् । १६ वर्षको उमेरमै विराटनगरको स्टुडियोबाट उनले सांगितिक यात्राको थालनी गरेकी थिइन् ।

केहि बर्ष अगाडिको कुराकानीमा यस्तो भन्थिन् रानुदेवी !

२००७ मा प्रजातन्त्रको स्थापनापछि काठमाण्डुमा रेडियो नेपालको स्थापना गरिएको थियो।केही समयका लागि रानुदेवी पनि काठमाण्डु आएकी थिइन् र सिंहदरबारबाट गीतहरु गाएकी थिइन्। त्यसपछि उनी कोलकाता गएर ६ वटा गीतहरु रेकर्ड गराइन्, जसमध्ये दुइवटा गीत क्रान्तिकारी थिए।

सानैदेखि गीत गाउने र गुनगुनाउने गरेकी अधिकारी विवाह गरेर कोइराला परिवारसंग जोडिन पुगेकी थिइन्। तारिणीप्रसाद कोइरालाको नेतृत्वमा बिराटनगरमा रेडियो स्थापना भएपछि कोइरालाले नै उनलाई रेडियोमा गीत गाउन भनेका थिए। आफ्नो गीतको प्रतिकृया भने निकै ढिलो मात्रै पाएको उनी केहि समय अगाडिको कुराकानीमा बताएकी थिइन् । “राणा शासनको समयमा क्रान्तिकारी गीत गाउने मान्छेलाई कसैले केही भन्छ?” उनी भन्छिन्। “त्यो डरले पनि कसैले केही भन्दैनन्। पछि मात्रै मैले सुनें, राम्रो गीत गाएँछु भनेर।”

रेडियो नेपाल स्थापना हुनु अघिको त्यो रेडियोको स्वरुप पनि उनी सम्झिन्छिनः “एउटा सानो कोठा थियो। उपकरणहरु खास केही थिएनन्।जो गाउनु पर्ने हो वा समाचार सुनाउनु पर्ने हो उ एक्लै भित्र गएर आफ्नो काम गर्थ्यो।”त्यस समयमा उनले गाउने गीतहरु प्रत्यक्ष प्रसारण गरिन्थे, र गीतलाई साथ दिने बाजाहरु पनि प्रत्यक्ष नै बजाइन्थे।

संगीतलाई अघि बढाउने इच्छाले उनी बनारस गइन् र म्याट्रिक र आइएमा शास्त्रीय संगीतको अध्ययन गरिन्। तर घरपरिवारका जिम्मेवारीका कारण संगीतमा स्नातक गर्न नपाएकोमा उनको दुःखेसो छ। उनको वासस्थान विराटनगरमा शास्त्रीय संगीत सिक्ने सिकाउने र सुन्ने वातावरण नहुनाले पनि संगीतको साथ छुटेको रहेछ। “संगीत अघि बढाउन मन त थियो,” उनी भन्छिन्। “तर बिराटनगरमा एउटा तबला बजाउने मान्छे पनि थिएनन् शास्त्रीय संगीतलाई साथ दिनलाई!”

कुनै क्षेत्रमा अघि बढ्नका लागि उनी विवाह नगर्ने सल्लाह दिन्छिन् युवा पुस्तालाईः “मेरो परिवार स्वतन्त्र विचारको थियो, मलाई सबैकुरामा परिवारको साथ थियो। नभएको भए त म यति प्रगति पनि गर्न सक्दिनथें होला। तर बच्चा बच्ची भएपछि मेरो पनि एउटा जिम्मेवारी हुन्छ। बन्धन भएपछि कहाँ जान पाइयो र?” अहिले पनि सम्झिँदा खेरी यो क्षेत्रमा अघि बढ्नुथियो भने विवाह नगरेको भए हुन्थ्यो जस्तो लाग्दो रहेछ उनलाई।

त्यसपछि उनी विराटनगरमा धेरै वर्षसम्म शिक्षण र राजनीतिमा सकृय रहिन्।तर अहिले भने जीवनको उत्तरार्द्धमा उनी संगीतमै आनन्द पाउँछिन्।”आफूलाई त चच्छा त लाग्छ नि। गाना भनेको त छुट्दैन नि,” उनी भन्छिन्।

“बुढेसकालमा खासै केही काम पनि छैन। मेरो सहारा भनेको नै संगीत हो। एउटा भजन भए पनि गाउँछु। म बसेर गुनगुनाइरहन्छु एक्लै आनन्दले!”

Related Articles

Back to top button