३ अर्ब २० करोडमा विनोद चौधरीले किने साउदी राजकुमारको होटेल
काठमाडौं। नेपालका अर्बपति व्यवसायी विनोद चौधरीलले केन्याको नैरोबीमा साउदी अरेबियाका राजकुमारको लगानी रहेको लक्जरी होटल किनेका छन्।
नैरोबीमा रहेको ‘फेयरमण्ट द नरफल्क’ र फेयरमण्ट द मारा सफारी क्लबको स्वामित्व चौधरी ग्रुपले खरिद गरेको हो।
साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई विक्री गरेका छन्। कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल सम्पन्न भएको साउदी अरेबियाका मिडियाहरूले उल्लेख गरेका छन्।साउदी राजकुमारले २.८ अर्ब केन्नियन सिलिङ (करीब ३ अर्ब २० करोड रुपैयाँ)मा होटेलको स्वामित्व विक्री गरेका छन्।
साउदीका यी राजकुमार अहिले आर्थिक हिसाबले निकै समस्यामा परेका छन्। केही महीनाअघि उनलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरिएको थियो। साउदी राजकुमारको लगानीमा केन्यामा रहेका सबै व्यवसायबाट उनले हात झिकेका छन्। अल वालिड विन तलालले केन्यामा रहेका सबै होटेल व्यवसाय विक्री गरिसकेका छन्। अब अन्यत्रको व्यवसायमा लगानीको योजना उनले बनाइरहेको साउदी अरबका मिडियाहरूले उल्लेख गरेका छन्।
उक्त होटेलको स्वामित्व खरिद गरेपछि चौधरी ग्रुपले होटेल रिनोभेटको काम शुरू गरेको छ। एक वर्ष लगाएर होटेल रिनोभेट गर्न लागिएको छ। एक साताअघि ‘फेयरमण्ट द नरफल्क’ र फेयरमण्ट द मारा सफारी क्लब’का सबै कर्मचारीहरूलाई कोभिड-१९ ले पारेको असरलाई कारण देखाएर हटाइएको छ।
फेयरमण्ट होटेलका राष्ट्रिय महाप्रबन्धक मेहधी मोरदले कोरोना महामारी कहिलेसम्म जाने र कति असर पर्ने भन्ने यकिन नभएकाले कर्मचारी कटौती गर्नुपरेको आन्तरिक मेमोमा उल्लेख गरेका छन्।चौधरीले एसिया र मध्यपूर्वी देशहरूमा लगानी विस्तार गरिरहेका छन्।