मलेसियाबाट नेपाल फर्कन इच्छुकहरुलाई दूतावासले फेरि गर्यो यस्तो अनुरोध
काठमाडौं २४ जेठ / विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण मलेसियामा अलपत्र परेका र भिसा म्याद सकिएर स्वदेश फर्किने दिन गन्दै बसिरहेका नेपालीहरुलाई मलेसिया स्थित नेपाली दूतावासले फेरि विवरण भर्न अनुरोध गरेको छ ।
यसअघि विवरण फारम भरिसकेकाहरुले पनि फेरि फारम भर्न पर्ने दूतावासले सुचना जारी गरेको छ । दूतावासले क्षमा माग्दै यस्तो लेखेका छन् :
सूचना!
यस दूतावासले यस अघि जारी गरेको अनलाईन फारममा धेरै जनाले आफ्नो विवरण भर्नु भएकोमा हामी आभारी छौ। सो विवरणको आधारमा विभिन्न मुलुकबाट नेपाल फर्कन चाहेका आफ्ना नागरिकहरुलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले पछिल्लो पटक गरेको निर्णय अनुसार थप विवरण आवश्यक परेको तथा नेपालमा कोभिड-१९ को वढ्दो प्रभाव समेतलाई मध्य नजर गरी नयाँ विवरण लिनु परेकोले पुनः निम्न अनुसारको विवरण उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछौ।
पुनः फारम भर्नु परी तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं। यसरी नेपाल फर्कनेहरुले नेपाल जाने हवाई भाडा, होटल क्वारेनटिन र स्थानिय यातायातको खर्च आफै व्यहोर्नु पर्नेछ।
फारम भर्न कृपया लिङ्कमा क्लिक गर्नुहोस।
https://bit.ly/2A7AYuO
त्यस्तै नेपाल सरकारले रोजगारीको प्रमुख गन्तव्य खाडीमुलुक लगायत अन्य देशमा अलपत्र परेका नागरिकलाई शुक्रबारदेखि स्वदेश ल्याउने भनिएपनि अझैसम्म सुचारु गरेको छैन । तर, शुक्रबार युएई सरकारको पहलमा १६८ नेपालीलाई नेपाल पठाईदिएको हो । म्यानमार सरकारले पनि २६ नेपाली नागरिकलाई स्वदेश उद्धार गरिदिएको हो ।