vada
International

नेपाल र चीनले भारतलाई सीमामा लज्जित तुल्याए : पाकिस्तानी सेनाका प्रवक्ता

भारतले नेपाल र चीनसँग गरिरहेको सीमा विवादका विषयमा पाकिस्तानले बयान दिएको छ ।पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिकारले बुधवार भारतलाई सैन्य दुस्साहस नगर्न र आगोसँग नखेल्न चेतावनी दिएका छन् जियो टीभी च्यानलसँगको अन्तर्वार्तामा उनले यो कुरा भनेका हुन् ।

उनका अनुसार, भारतले पाकिस्तानविरुद्ध फल्स फ्ल्याग अपरेसन (युद्ध शुरू गर्नका लागि झूटो कारवाही) चलाउन खोेजेको र त्यसका लागि भूमिका बनाइरहेको छ । पाकिस्तानले नियन्त्रण रेखापारि कोरोना संक्रमित आतंकवादीहरू पठाइरहेको आरोप भारतले लगाएको उनले बताए ।

फल्स फ्ल्याग अपरेसनका लागि भारतसँग अर्को कारण पनि रहेको इफ्तिकारको भनाइ छ । उनले भने, ‘चीनसँगको सीमामा अनि नेपालसँगको सीमामा भारतले बेइज्जती खेप्नुपरेको छ ।

अनि कोरोनाभाइरस महाव्याधिको राम्रो व्यवस्थापन गर्न नसकेर ऊ लज्जित भइरहेको छ । मजदूरहरूको पलायनबाट नै भारतको कुव्यवस्थापन झल्किन्छ । त्यहाँ भाइरस तीव्र गतिमा फैलिँदैछ र अर्थतन्त्र सुस्त बनेको छ ।’

उनले थपे, ‘अगस्ट ५ पछि भारतले कश्मीरका विषयमा उठाएका कदम पनि ब्याकफायर हुन पुगे । नागरिकता संशोधन कानून ल्याएर मुसलमानविरोधी लहर उत्पन्न गरियो र यसलाई संसारले अनुभव गर्‍यो । भारत हरेक तहमा असफल र लज्जित भइरहेको छ ।’

इफ्तिकारले भने, ‘भारतको अहिलेको नेतृत्व यी सबै विषयबाट ध्यान भड्काउन पाकिस्तानसँग युद्धको बहाना खोजिरहेको छ । तर भारतले पाकिस्तानतर्फ आक्रामक रूपमा बढ्न खोजेमा पाकिस्तानले सशक्त जवाफ फर्काउँछ भन्ने मेरो धारणा छ । यसमा कसैले शंका गर्नुहुँदैन ।’

Related Articles

Back to top button
Close