News

युएईबाट १६८ नेपाली लिएर काठमाडौं आइपुग्यो एयर अरेबिया जहाज

काठमाडौं २३ जेठ / विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण युएईमा अलपत्र परेका १६८ नेपाली नागरिकलाई लिएर एयर अरेबियाको जहाज काठमाडौं आइपुगेको छ । युएईको सारजाह एयरपोर्टबाट एयर अरेबिया जहाजले नेपाली समय पौने ३ बजे उडान भरेको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेका अनुसार नेपाली फिर्ता ल्याउने प्रक्रियामा दुबैतर्फ कुरा मिलेकाले उडान समय परिवर्तन गरेर भएपनि नेपाली नागरिकको उद्धार गरिएको हो ।

यस अघि अन्तिम समयमा भाडाको बिषयमा कुरा उठेपछि उडान स्थगित भएको थियो । युएइबाट नेपाल भित्रिएका नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरि नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।

यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फिरेका हुन् ।

सरकारले रोजगारीका लागि विभिन्न मुलुकमा समस्यामा परेका आफ्ना नेपाली नागरिकलाई स्वदेश ल्याउन प्रक्रिया अगाडि बढाएको छ । विभिन्न मुलुकगरि लगभग २५ हजार नागरिकलाई स्वदेश ल्याउने तयारी गरेको छ ।

आज बिहान म्यानमारबाट २६ नेपाली नागरिक नेपाल आइपुगेको छ । उनिहरुलाई म्यानमार सरकारकै पहलमा म्यानमार एयर फोर्स बिमानबाट नेपाल पठाइदिएको बताएको छ । हाल उनिहरु बसुन्धरा स्थित पाटिप्यालेसको क्वारेन्टाइनमा रहेको छ । त्यस्तै भर्खरै युएईबाट नेपाल आइपुगेको नेपालीलाई पनि नेपाली सेनाको पहलमा सुरक्षित साथ क्वारेन्टाइनमा लगेर राख्ने व्यवस्था गरिएको छ ।

साउदी, कतार, मलेसिया र अन्य देशको दुतावासले नेपाल फर्किन पर्ने अवस्थामा रहेका नागरिकको विवरण संकलन गरिरहेको छ । प्राप्त जानकारी अनुसार अन्य देशबाट पनि यै हप्ता नेपाल ल्याउने तयारी गरेको बुझिएको छ ।

आज लकडाउनको ७४ ओैं दिन नेपालमा कोरोना भाइरस संक्रमित सङ्ख्या २९ सय १२ पुगेको छ भने ३ सय ३३ जनाले कोरोनालाई जितेर घर फर्केको छ । नेपालमा कोरोना ११ जना संक्रमित व्यक्तिको ज्यान गइसकेको छ । हालसम्म देशको ६८ जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

लकडाउन अझै लामो समयसम्म जारी राख्ने सरकारको तयारीरहेको छ । असार १ गतेदेखि देशमा ६ चरण गरेर क्रमै सँग लकडाउन खुकुलो बनाउने तयारी गरेको विज्ञहरु बताउछन् ।

Related Articles

Back to top button
Close