अलपत्र परेका आफ्नो नागरिक ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउछ भनेर रत्तिभर पनि विश्वास छैन : सांसद थापा
काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारीका कारण सीमामा अलपत्र परेका र विदेशमा रोजगारी गुमाए नेपाली नागरिकहरुलाई स्वादेश ल्याउनुपर्ने बताउनुभएको छ ।
सोमबार संसदमा नीति तथा कार्यक्रममाथि बोल्दै सांसद थापाले कोरोनाका कारण विदेशमा रोजगारी गुमाएका र सीमामा अलपत्र परेका नेपाली नागरिकहरुलाई सरकारले फिर्ता ल्याउन नसकेको आरोप लगाउनुभएको हो ।
सांसद थापाले राष्ट्रियता भनेको माटो मात्र नभई मान्छे पनि भएको बताउँदै सीमामा अलपत्र परेका नागरिकहरुलाई नै ल्याउन नसक्ने सरकारले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउछ भन्ने रत्तिभर पनि विश्वास नलागेको बताउनुभयो ।
त्यस्तै, उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा बारीदेखि भकारीमा परेको प्रभावबारे खासै उल्लेख नभएको बताउनुभयो । यसैबीच उहाँले कोरोना नियन्त्रणका लागि सरकारले राम्रो तयारी नगरेको आरोप पनि लगाउनुभयो ।