एमसिसीबारे देउवालाई रावलको जवाफ : ‘उहाँले त महाकाली सन्धि पनि छिटाे गराैँ भनेकै हाे’
काठमाडौं : सत्तारूढ नेकपाका सांसद भीम रावलले एमसिसी पछाडिको ढोकाबाट छिराउन खोजिएको भन्दै विरोध जनाएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद रावलले यस्तो बताएका हुन्। उनले एमसिसी राष्ट्रहितविपरीत रहेको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटो पास गरौँ भनेकोप्रति विरोध जनाए।
‘एमसिसी पछाडिको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको छ। नेपाली कांग्रेसका नेताले भन्नुभयो छिटो पारित गर्नुपर्छ भनेर। उहाँले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गर्नुभएको थियो’ उनले भने, ‘१०/१० वर्षमा महाकाली सन्धीको पुनरावलोकन हुने भन्ने थिाये। न त्यसको पुनरावलोकन भएको छ, न कार्यान्वयन भयो। मैले आशा गर्छु नीति तथा कार्यक्रममा उल्लेख भएका विषय एमसिसीअन्तर्गत हुनेछैनन्। यदि भयो भने त्यो राष्ट्रहितविपरीत हुनेछ। जनताले आवाज उठाउँदै आएको कुराको विपरीत हुनेछ।’
उनले देउवाले महाकाली सन्धि गर्दा पनि देउवाले छिटो गरौँ भनेको आरोप लगाए। कांग्रेस सभापति देउवाले आइतबार एमसिसी छिटो पास गर्नुपर्ने बताएका थिए। सरकारले पनि संसदको यही अधिवेशनबाट एमसिसी पास गर्ने तयारी गरेको छ।