vada
News

एक जनाले राहतमा तरकारी दियो, पकाउनलाई घरमा तेल छैन भन्न लाज लाग्यो

डल्लुको विष्णुमती पुलनिर एक महिलाले दौडिएर सडक पार गरिन्। उनलाई सडकमा हुइँकिएका गाडीको कुनै वास्ता थिएन। नजाने कुन तोडले होला, उनी त्यसरी बेतोडले दौडिएकी! उनले कालो मास्कले मुख ढाकेकी थिइन्, नाक भने खुल्लै थियो। उनले ओढेको रातो पछ्यौरीको छेउमा सानो पोको थियो। त्यो सानो पोको उनले बडो जतनसाथ सम्हालेकी थिइन्।

उनी हामी भएतर्फ आइन् र टक्क अडिइन्।’बेटी कहीँ रासन मिल जाए तो…’ स्याँस्याँ मिसिएको उनको आवाज वाक्य पूरा नहुँदै रोकियो। त्यत्तिकैमा उनी पछ्यौरीको छेउको पोको खोतल्न थालिन्। त्यहाँ एउटा कागजको टुक्रा रहेछ। त्यो टुक्रा निकालेर दिँदै उनले नेपालीमै भनिन्, ‘हामीलाई कतै रासन मिल्दैन? मिल्यो भने यो नम्बरमा फोन गर्नुस् है।’

‘पछ्यौरीमा के बोक्नुभएको?’ हामीले सोध्यौं।’खानेकुरा,’ उनले एक शब्दमा जवाफ दिइन्। कहाँबाट ल्याउनुभएको? ‘यहाँ बाँडिरहेको थियो। अहिले त गाडी गइसक्यो।’कुन ठाउँबाट आउनुभएको? ‘त्यहाँ पर…ढोकाटोलबाट।’एक्लै आउनुभएको?

‘होइन श्रीमान र नाति पनि आएका छन्। म तपाईंलाई देखेर छिटोछिटो दौडिएर आइपुगेँ। उनीहरू पनि आउँदैछन्।’
उनको नाम मन्जु गुप्ता हो। उमेर ५५ वर्ष। घर बिहार, भारत। उनको परिवार २५ वर्षदेखि काठमाडौंमै बस्छ। परिवारमा उनी र उनका श्रीमानसहित दुई छोरा, एउटी बुहारी र तीन नाति-नातिना छन्।

उनीसँग कुराकानी गर्दागर्दै उनका श्रीमान मुन्ना गुप्ता र साना नाति पनि आइपुगे। ‘हामी खाना लिन आएका। कोठामा खानेकुरा केही छैन,’ श्रीमानतर्फ इसारा गर्दै मन्जुले भनिन्, ‘काम गर्ने मान्छे उही हो, उसको काम नभएपछि भात खानलाई पनि हात फैलाउनुपरेको छ।”तपाईं के काम गर्नु हुन्थ्यो?’ हामीले मुन्नालाई सोध्यौं।

‘ठेलागाडामा सामान व्यापार गर्थेँ। अहिले त गाडा निकाल्न पनि दिएको छैन। अघिल्लो वर्षदेखि नै व्यापार छैन। के गर्नु हजुर अप्ठ्यारोमा परियो। एकचोटि भोक मेट्न पनि अरूको भर पर्नुपरेको छ,’ ६५ वर्षीय मुन्नाले सुनाए।मुन्ना टीका, काइँयो, ऐना लगायत सामग्री गाडामा राखेर बेच्थे। दैनिक ५ सयदेखि ७ सयसम्म व्यापार हुन्थ्यो। व्यापार हुँदा त्यसैबाट गुजारा चल्थ्यो। बचत गर्न भने गाह्रो थियो। त्यसमाथि उनीहरूका जेठा छोरा मानसिक रोगी छन्। चिकित्सकले औषधि नियमित खानुपर्छ भनेको छ। गाँस कटाएर पनि छोराको औषधिका लागि पैसा जोहो गर्थे मुन्नाले।

कोरोना महामारी सुरू भएयता मुन्नाको व्यापार चौपट भयो। अघिल्लो वर्ष लकडाउनपछि केही समय बजार खुल्यो, तर मुन्नाको व्यापार फर्किएन। त्यसपछि त मुन्नालाई खान र कोठा भाडा तिर्ने रकम जुटाउनै मुश्किल पर्न थाल्यो। छोराको औषधि किन्ने पैसा त कता हो कता!‘डाक्टरले औषधि नियमित खानुपर्छ भनेर के गर्नु, पैसा भएन। उसको दिमागको बिमार झन् बल्झियो,’ मन्जुले भनिन्। उनीहरूले यसपालि फेरि लकडाउन हुन्छ रे भन्ने हल्ला त सुनेका थिए। अरू कति साथीभाइ लकडाउन छल्न आफ्नै देश फर्किए। उनीहरू भने फर्किएनन्।

Related Articles

Back to top button