News

ज्वाइँको उपचार गराउन काठमाडौं जाँदा कोरोना संक्रमण

दाङ : शुक्रबार कोरोना संक्रमित पुष्टि भएका तुलसीपुर ४ मजुवाका ४६ वर्षीय पुरुष गत चैत २७ गते दाङ छाडेको खुल्न आएको छ। दाङको शान्तिनगर गाउँपालिका ५ बस्ने ज्वाइँको उपचारका लागि उनी काठमाडौं गएका थिए।

चैत २५ गतेबाट २ दिन राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर २७ गते नेपालगन्ज लगिएको संक्रमितकी आमाले जानकारी दिइन्। संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनी २८ गते नै एम्बुलेन्सबाट काठमाडौं गएको देखिन्छ।

उनी काठमाडौंको शिक्षण अस्पतालमा २९ गते बिहान साढे २ बजे पुगेका ट्राभल हिस्ट्रीले देखाएको छ। शिक्षण अस्पतालमा भर्नापछि उनी त्यहीँ बसेर बिरामीको हेरचाह गर्दै आएका थिए।

उपचार गर्न गएदेखि अहिलेसम्म पनि उनी दाङ नआएका उनको परिवार स्रोतले बतायो। संक्रमित व्यक्ति यसअघि कतै नगएको पनि खुलेको छ। ज्वाइँको उपचारका लागि उनी र बहिनी त्यहाँ पुगेका थिए। बिरामी र उनकी श्रीमतीको भने रिपोर्ट नेगेटिभ आएको छ।

उनीहरु अस्पतालको न्युरो वार्डमा बसेर उपचार गरिरहेका थिए। शुक्रवार उनीहरुलाई डिस्चार्ज गर्ने अस्पतालले तयारी गरिरहेको बेलामा अचानक कोरोना पोजेटिभ देखिएको थियो।

अस्पतालमै संक्रमण फैलिएको आशंका गरिएको छ। तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले संक्रमितको परिवारमा रहेका ६ जनाको आरडिटीको तयारी गरेको छ।

Related Articles

Back to top button
Close