आज थपिएका दुबै कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी
शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ।
उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई जानकारी दिए।
उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ। जसमा ३५ जना निको भएका छन्।
प्रदेश नम्बर २ का सबै जिल्लामा देखिए कोरोना संक्रमित
सिराहामा एक जना कोरोना संक्रमित भेटिएसँगै प्रदेश नम्बर २ का आठ वटै जिल्लामा कोरोना संक्रमितको देखिएका छन्।
शनिबार थपिएका ६ जना कोरोना संक्रमितमध्ये एक जना सिराहाका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सिराहाको सखुवा१९ निवासी ३० वर्षीय पुरूषमा संक्रमण देखिएको हो। यसअघि प्रदेशभित्र सिराहामा मात्र संक्रमण देखिएको थिएन।
अहिलेसम्म प्रदेश २ मा एक सय ८ जना संक्रमित छन्।
पर्सामा सर्वाधिक ९१ जना संक्रमित छन्। धनुषामा ४, रौतहटमा ३, सर्लाहीमा ३, बारामा ३, महोत्तरीमा २ र सिराहा र सप्तरीमा एकएक जना संक्रमित छन्।
यी सबै संक्रमितलाई वीगन्जको नारायणी अस्पताल, वीरगन्जकै सिदार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइन, जनकपुर प्रादेशिक अस्पताल र सप्तरीको गजन्द्रनारायण अस्पतालमा राखिएको छ।
यसअघि पर्साको वीरगन्जस्थित छप्कैया बस्तीमा संक्रमण फैलिन थालेपछि समग्र प्रदेशमा जोखिम रहेको औंल्याइएको थियो।
शनिबार ६ जना संक्रमित थपिएपछि नेपालमा संक्रमित संख्या २ सय ७३ पुगेको छ।