International

इटालीमा ३७ जना डाक्टरको मृत्यु, स्पेनमा मृतकको संख्या ४ हजार बढी चैत्र १३, २०७६एजेन्सी

इटालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुने चिकित्सकको संख्या ३७ पुगेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको इटालीको संघीय चिकित्सक संघले दिएको जानकारीअनुसार बिहीबार बेलुकासम्म ३७ जना चिकित्सकको मृत्यु भइसकेको छ ।

खालीखाली देखिएको पर्यटकीय सहर रोम तस्बिर : सुदीप अधिकारी

इटालीका चिकित्सकहरुले आफूहरु निकै कठिन परिस्थितिसँग सामना गरिरहेको बताएका छन् । संक्रमितको बढ्दो संख्या र देशव्यापी रुपमा संक्रमण बढेसँगै इटालीको अवस्था भयावह बनेको छ ।

बिहीबार साँझसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३
पुगेको छ । त्यस्तै इटालीमा ७४ हजार ३ सय ८६ जना संक्रमित हुँदा करिब ९ हजार निको भएका छन् ।
स्पेनमा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो
इटालीपछि सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा परेको स्पेनमा बिहीबार साँझसम्म ४ हजार ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६ सय ६५ जनाको मृत्यु भएको छ । बुधबारभन्दा बिहीबार मृतकको संख्या केही घटे पनि अवस्था भयावह नै छ । बिहीबार भने स्पेनमा अहिलेसम्मकै बढी ७ सय ३८ जनाको मृत्यु भएको थियो । स्पेनमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ७३ जनामा संक्रमण देखिएको छ ।
बिहीबार साँझसम्म स्पेनमा संक्रमितको संख्या ५६ हजार १ सय ८८ पुगेको छ । मार्च १३ देखि पुरै लकडाउन गरेर कोरोनाको महामारी नियन्त्रणका लागि कदम चाले पनि सफल हुन सकेको छैन । स्पेनले नेटो, अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संघसंस्थालाई औषधि र व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) लगायतका सामग्री उपलब्ध गराइदिन आग्रह गरेको छ ।

त्यस्तै चीन र इटालीपछि सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा बिहीबार साँझसम्म एक हजार ३७ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ६८ हजार ८ सय १४ जनामा संक्रमण देखिएको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमण बुलेट ट्रेनको गतिमा बढिरहेको र बेलैमा सचेत नभए यसले भयावह रुप लिने न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले चेतावनी दिएका छन् ।

त्यस्तै बिहीबार साँझसम्म कोरोना संक्रमणबाट इरानमा २ हजार २ सय ३४, चीनमा ३ हजार २ सय ८७, फ्रान्समा एक हजार ३ सय ३१, बेलायतमा ४ सय ६५, नेदरल्यान्ड्समा ४ सय ३४, स्विजरल्यान्डमा १७१, बेल्जियममा २२० र दक्षिण कोरियामा १३१ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले पुरै विश्वभर फैलिइसकेको छ । बिहीबार साँझसम्म विश्वभर चार लाख ९० हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् भने २२ हजार एक सय ५६ जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख १८ हजारभन्दा बढी निको भएका छन् ।

Related Articles

Back to top button
Close