vada
News

सर्वदलीय बैठकमा ओलीले भने, पुर्खाले लडेर बचाएको भूमि अडेर फिर्ता लिन्छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक बनाएकोले तत्काल वार्ता गर्न भारत तयार हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उपस्थित पूर्वप्रधानमन्त्रीहरु, संसद प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, पूर्वपराष्ट्रमन्त्रीहरु र सरकारका मन्त्रीहरुको राय सुनिसकेपछि प्रधानमन्त्री ओलीले नेपालको अन्तिम सीमा काली भएकोले यसमा कुनै विवाद नभएको बताएका छन् ।

प्रधानमन्त्रीलाई उदृत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, “नेपालको पश्‍चिमी सीमा बिन्दु काली नदी भएकोमा दुई मत छैन । नेपाली भूमि भारतले अतिक्रमण गरेकोले फिर्ता ल्याउन पहल गर्नुपर्नेमा सम्पूर्ण राजनीतिक दलहरु एकमत छन् । कुटनीतिम संवादमार्फत यो समस्या समाधान गर्नुपर्ने सम्पूर्ण राय सकारात्मक छ ।”

सन् २०१९ मा भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि मार्चसम्म लगातार वार्ताका लागि पहल गर्दा पनि तयार नभएकोसमेत प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराएका थिए । उनले भने, “भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि पटक-पटक वार्ताका लागि आह्वान गरिएको छ । भारत तयार भएको छैन । अहिले कोरोनालाई कारण देखाउँदै वार्ता सार्न खोजेको छ ।”

अहिले भारतले कोरोना कारण देखाउँदै वार्ता सार्न नमिल्‍ने र तत्काल वार्ता गर्न प्रधानमन्त्री ओली प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने, “भारतले कालापानी, लिपुलेकलगायतका क्षेत्रमा समस्या नसुल्झिएको स्वीकार गरिसकेको अवस्थामा सडक बनाएर उद्घाटन गर्नु कुटनीतिक र अन्तर्राष्ट्रिय कानुन, मान्यता र दृष्टिकोणका आधारममा पनि न्यायोचित छैन । अहिले सडक बनाएर उद्घाटन गर्न हुने वार्ता गर्न किन हुँदैन । वार्तमा भारत आउनैपर्नेमा प्रधानमन्त्रीज्यू दृढ हुनुहुन्छ ।”

प्रधानमन्त्रीले पुर्खाले लडेर बचाएको भूमि अडेर फिर्ता ल्याउनेसमेत बताएका छन् । प्रधानमन्त्री ओलीले भारतले यो समस्या समाधानका लागि जुन तहमा वार्ता गर्न चाहन्छ त्यही तहमा नेपाल तयार रहेकोसमेत बताएको परराष्ट्र मन्त्री ज्ञवालीले बताए ।

Related Articles

Back to top button