vada
News

पोखरामा अलपत्र परेका पर्यटकलाई दोर्जेले खुवाए नि:शुल्क खाना

सोमबार साँझ सरकारले मंगलबारदेखि नेपालभरै लक डाउन गर्ने निर्णय गर्दा बेलायती नागरिक क्रिष्टोफर लेगका दम्पत्ति भर्खर पोखरा आइपुगेका थिए।

अन्नपूर्ण फेरो पदयात्रा गरेर सोमबारमात्र पोखरा आइपुगेका उनीहरूले होटलमा बास त पाए तर लक डाउन भएपछि मंगलबार बिहान खाना पाएनन्।

उनीहरूलाई बसिरहेका होटलले खाना दिएनन्। बाहिरका रेष्टुरेन्ट बन्द छन्।

खानेकुराको खोजीमा भोकभोकै सडकमा भौतारिरहेका क्रिष्टोफर दम्पत्तिले लेकसाइडको बाराहीचोकस्थित मुनडान्स रेष्टुरेन्टको एउटा ढोका खुला देखे, त्यहीँ जान खोजे।

रेष्टुरेन्टमा नेपाली खाना दाल, भात, तरकारी नि:शुल्क खुवाउने व्यवस्था गरेको रेष्टुरेन्टका कर्मचारीले बताए।

तर उनीहरूलाई रेष्टुरेन्टमा बसेर खाने व्यवस्था थिएन, खाना लिएर जानुपर्थ्यो।

रेष्टुरेन्टले बाहिर खाना लैजान गाह्रो हुने पर्यटकलाई भित्र नै राखेर खाना खुवाउन थाल्यो। यस्तो विपद्को बेला उनीहरुले अब के गर्ने भनेर काठमाडौंस्थित बेलायती राजदूतावासलाई सम्पर्क गर्न खोजे। तर सम्पर्क भएन।

‘हामीसँग पैसा छ, खानेकुरा छैन,’ क्रिष्टोफरले सेतोपाटीलाई भने, ‘यस्तो अवस्थामा हामीले के गर्ने हाम्रो दूतावासले हामीलाई केही भनेन।’

रेष्टुरेन्टमा बेलायतीमात्र होइन, फ्रान्सेली, जर्मनी, डज, चाइनिज, इटालियन, भेनेजुयलालगायत देशका पर्यटकले खाना खाएका छन्। मंगलबारमात्र २५ जना बढीले नि:शुल्क खाना पाइसकेका छन्।

‘हामी सकेसम्म खाना लिएर लैजान भनेका छौं,’ सञ्चालक दोर्जेले भने,‘रेष्टुरेन्ट चलाउने गरीभित्र राख्ने अवस्था छैन।’

खाना खान नपाएर भौतारिरहेका पर्यटकलाई सामाजिक उत्तरदायित्व पूरा गर्न पनि आफूले नि:शुल्क खानाको व्यवस्था गरेको बताए।

‘नेपाली माया विदेशीलाई बाँडौं भनेर हो,’ उनले भने, ‘मैले मेरो स्टाफलाई सुरक्षित भएर सेवा दिन भनेको छु।’

रेष्टुरेन्टअगाडि प्रहरीले कोरोना भाइरस र लक डाउनबारे अंग्रेजीमा सूचना प्रवाह गरिरहेको छ।

खानाको खोजीमा सडकका छेउछाउ हिँडिरहेका फाट्टफुट्ट पर्यटक देखिन्छन्। मुनडान्स रेष्टुरेन्टमा खाना लिन जाने पर्यटकले साबुन पानीले हात धुन अनिवार्य गरेको छ।

उनीहरूलाई सुरक्षित रूपमा बस्ने र खाने व्यवस्था मिलाउन पोखराका पर्यटनसम्बन्धी संघ-संस्था भने निष्क्रिय बनेको छ।

Related Articles

Back to top button
Close