vada
News

पर्सामा दुई पत्रकारसहित एकै दिन ३९ जना कोरोना संक्रमित थपिए

वीरगन्ज (पर्सा), ३० वैशाख । पर्सा जिल्लामा मंगलबार ३९ जना कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वीरगञ्जबाट स्वाब संकलन गरि भएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमित पुष्टि भएको जनाएको हो ।

एकै दिन ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लाभरि कोरोना संक्रमितको संख्या ६३ पुगेको छ ।

चैत २८ गते वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैया स्थित मस्जिदमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएसँगै लगतार वीरगञ्जको छपकैया सहित छिपहरमाई गाउँपालिकाका क्वारेन्टाइनमा रहेका स्थानीयमा पनि कोरोना पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा नं. १, २, ३ ११, १६, १७ र १८ का १ हजार ५५ जना स्थानीय तथा छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएको छ भने २ जना संक्रमित निको भएर छपकैयास्थित मुस्लिम आयोगले उपलब्ध गराएको क्वारेन्टाइनमा छन् ।

मंगलबार कोरोना पुष्टि भएका ३९ जनालाई उपचारको लागि नारायणी अस्पतालमा ल्याउने कार्य भइरहेको छ भने पर्सा वीरगञ्ज महानगरपालिकामा देखिएका पुराना कोरोना संक्रमितहरु २२ जना सहित बारा, रौतहट तथा सर्लाहीका गरि २७ जना कोरोना संक्रमितको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

एकै ३९ जनामा कोरोना संक्रमित पुष्टि भएपछि अहिले वीरगञ्ज त्रासमय बनेको छ । केही बेर अघिसम्म मात्रै वीरगञ्ज बजारमा सर्वसाधारणहरुको चहल पहल देखिएपनि ३९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएसँगै वीरगञ्ज सुनसान बनेको छ ।

दुई पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि

वीरगन्ज स्थित २ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पर्सा जिल्लामा एकै दिन ३९ जना कोरोना संक्रमित थपिएकोमा २ जना सञ्चारकर्मी पनि रहेको बताइएको छ ।

सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लाको सञ्चार क्षेत्रमा खैलाबैला मच्चिएको छ ।

वीरगञ्जमा गत आइतबार सञ्चारकर्मीमाथि प्रहरीले गरेको दुव्र्यहारको विरोध गर्दै सम्पूर्ण सञ्चारकर्मीहरु जिल्ला प्रहरी कार्यालयमा विरोध गर्नुदेखि घण्टाघरमा धर्ना दिनुका साथै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक कारवाहीको लागि ज्ञापन पत्र समेत बुझाउन पुगेका छन् ।

विरोधको कार्यक्रममा सरिक भएका सम्पूर्ण सञ्चारकर्मीहरु त्रासमा छन् । नारायणी अस्पतालले सम्पूर्ण सञ्चारकर्मीहरुको स्वाब संकलन गरि परीक्षण गर्ने व्यवस्था मिलाई रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close