News

पुनर्नियुक्तिबारे धेरै हल्ला चलेपछि कुलमान घिसिङले गरे यस्तो आग्रह (पूर्णपाठ)

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिका विषयमा अफवाह फैलाइएको बताएका छन् ।बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नो चार वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालको पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनलाई जोडेर केही दिनदेखि विभिन्न संचार माध्यम र सामाजिक संजालमा सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा आफ्नो नक्कली खाता बनाएर पनि दुष्प्रचार गरिएको उल्लेख गरेका छन् । उनले अर्को कार्यकालको पुनर्नियुक्तिका विषयमा प्रधानमन्त्री र मन्त्रीसँग जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगर्न पनि अनुरोध गरेका छन्।घिसिङले नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले नेपाल सरकारको निर्देशन तथा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत उल्लेखनीय उपलब्धि हासिल भएको र यो उपलब्धि आफ्नो व्यक्तिगत प्रयासले मात्र हासिल नभएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले लेखेका छन् :

‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एव मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन ।’

भदौ ९ गते मन्त्रिपरिषद्को बैठक बसिरहेका बेला घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा अर्को कार्यकालका लागि पुनर्नियुक्ति गरेको भनी सामाजिक संजाल र मिडियाहरुमा प्रचार भएको थियो ।विहिबार सरकारका प्रवक्ता तथा अर्थमन्त्री, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले सामाजिक सञ्जालले नै प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरेको, तर सरकारले यसबारे कुनै निर्णय नगरेको स्पष्ट गरेका थिए ।

उनले भने

उँहालाई सामाजिक संजालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन तर औपचारिक प्रस्ताव पनि छैन र त्यस सम्बन्धि छलफल पनि भएको छैन । त्यसैले त्यो लेखाइ र बोलाइमा कुनै सत्यता छैन ।’

घिसिङद्वारा जारी प्रेस विज्ञप्ति

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९को निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय श्री वर्षमान पुनज्यूलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्मानीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु ।

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निती तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन्।लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन ।

सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु ।

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण
दरबारमार्ग, काठमाडौं ।
मिति : २०७७-०५-११ बिहीबार ।

Related Articles

Back to top button
Close