काठमाडौंमा भर्खरै भुकम्पको धक्का : थाहा पाउनु भयो ?
काठमाडौं, १० भदौ। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउसो २ बजेर ४६ मिनेट जाँदा कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र जनाएको छ ।भूकम्पको धक्का सानो भए पनि केन्द्रबिन्दु कालिमाटी भएको हुदा धेरैले धक्का महसुस गरेका थिए ।
अन्य समाचार : सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ । नजिकिएको चाडबाडलाई समेत ध्यान दिएर सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो ।पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौंबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि त्यही मितिदेखि शुरु गर्ने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दशैं, तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै छिट्टै आन्तरिक उडान पनि शुरु गरिने बताउनुभयो । पर्यटनमन्त्री भट्टराईले केही पहाडी तथा हिमाली जिल्लाबाट आन्तरिक उडान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञाको स्थिति भएकाले आन्तरिक उडान चलिहाल्ने अवस्था छैन । तर पनि मन्त्रालयकोतर्फबाट केही पहाडी र हिमाली जिल्लाबाट उडान सुचारु गर्नका लागि छलफलमै छौं । निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छौँ ।’ कोभिड–१९ महामारीको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तत्कालै तराईका जिल्लाका विमानस्थलमा आन्तरिक उडान नहुने पनि मन्त्री भट्टराईले स्पष्ट पार्नुभयो ।
यसअघि भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको सरकारले कोभिड–१९ को सङ्क्रमण राजधानीसहित विभिन्न जिल्लामा बढेपछि पुनः उडान स्थगन गरेको थियो । ‘अहिले देशभर कोरोना सङ्क्रमण बढीरहेको छ, आन्तरिक हवाई उडानबाट आउने जाने प्रायः काठमाडौंबाट तराई र तराईबाट काठमाडौैं जाने नै बढी हुने भएकाले सम्भावित जोखिमलाई ध्यान दिँदै अहिलेलाई मन्त्रालयले केही पहाडी र हिमाली जिल्लामा पूर्वदेखि पश्चिमसम्मका क्षेत्रमा आन्तरिक उडान परीक्षणको रुपमा सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ । यो भदौ १६ बाटै हुन्छ, पर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।
पर्यटन मन्त्रालयले भदौ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । उडान तालिका अनुरुप एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान हुने भएका छन् । मन्त्रालयका अनुसार नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।
त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ । यो एक महिनाको अवधिमा १० विदेशी र दुई नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्नेछन् । सरकारले सहजै रुपमा कोरोना परिक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको थियो । दैनिक पाँच सय यात्रु नबढ्नेगरी अन्तर्राष्ट्रिय उडान हुनेछ ।
मन्त्रालयले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई कोभिड–१९ को माहामारी कायमै भएकाबेला सरकारले तोकेका नियम तथा शर्तहरु पालना गराउँदै उडान गराउन निर्देशन दिएको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को परीक्षण सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन । तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर र सलाम एयरले चार्टर उडान गर्ने छन् ।
त्यसैगरी नियमित तथा चार्टर उडानबाट नेपालमा भएका सबै दूतावासका कर्मचारी, संयुक्त राष्ट्र संघका १८ वटा एजेन्सी र नेपालमा काम गरिरहेका १५ वटा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई पनि आउन दिने मन्त्रालयले जनाएको छ । नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् । चैत ११ देखि साउन ६ गतेसम्म देशभर बन्दाबन्दी लागू गरिएको थियो ।