News

यी कुरामा ध्यान दिनुहोस्, कोरोनाबाट बच्नुस्

काठमाडौँ । कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको भएर फर्किएकी एक महिला भने स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ नगर्नु नै कोरोनाबाट जोगिने अन्तिम विकल्प भएको अनुभव सुनाउँछिन्। दैनिक उपभोग्य वस्तु खरिद गर्ने घर नजिकैको किराना व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि ती महिला पनि श्रीमानसहित स्वाब परीक्षणका लागि टेकु पुगिन् । तर श्रीमान्को रिपोर्ट नेगेटिभ आयो।

घरमा कोही आउँदा पनि उनका श्रीमान् मास्क लगाएर कुरा गर्थे। ती महिलाको भनाइ अनुसार मास्क खोलेर कुरा गर्नुभन्दा उनी चाहिँ जोखिमको बेला सतर्क हुनुपर्छ भन्थे। कोरोना सङ्क्रमण हुन नदिन सामान्य सतर्कता अपनाउँदा एक दम्पतीका श्रीमान् जोगिनु तर श्रीमतीमा देखिनु शरीरको प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) मात्र नभई स्वास्थ्य सतर्कता महत्त्वपूर्ण भएको पाइएको छ।

कोरोना सङ्क्रमितको उपचारमा संलग्न सशस्त्र प्रहरी बल बलम्बुका चिकित्सक डा प्रविन नेपाल एउटै परिवारभित्र कसैमा कोरोना देखिनु कसैमा नदेखिनुमा इम्युनिटी पावरसँंगै स्वास्थ्य सतर्कता मुख्य भएको बताउँछन्।

घरबाहिर निस्कँदा वा घर तथा कार्यालय, आफन्त, परिवार, साथी र बाक्लो जमघटमा पनि सामाजिक दूरी कायम राख्ने, मास्क अनिवार्य, सेनिटाइजरको प्रयोग र सरसफाइमा उचित ध्यान दिने हो भने सङ्क्रमणको जोखिम न्यून हुन्छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम कतिपय सर्वसाधारणले मास्कसमेत नलाउने गरेको बताउँछन्। केही दिनअघिको एउटा सर्वेक्षणले ७२.१ प्रतिशतले मात्र मास्क प्रयोग गरेको देखाएको थियो।

हामीले उचित ढङ्गले मास्कको प्रयोगसँंगै घर तथा कार्यालयभित्र र घर बाहिर सामाजिक दूरी कायम राख्ने हो भने सजिलै जोगिन सकिन्छ। उनका अनुसार मास्क लगाए पनि भीडभाडको यात्रा भने असुरक्षित हुने गर्छ । आजको गोरखापत्र दैनिकमा खबर छ।

Related Articles

Back to top button
Close