vada
News

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

३१ साउन, काठमाडौं ।नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । शुक्रबार साँझ धनुषामा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि मृतकको संख्या १०० नाघेको हो ।धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषलाई श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएसँगै मृतक संख्या ९९ पुगेको जनाईएको थियो । त्यसमा वीरगञ्जमा मृत्यु भएका बाराका एक युवकको तथ्यांक थिएन ।नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा भेटिएको थियो । दोस्रो संक्रमित १० चैतमा भेटिएसँगै लकडाउन भयो । कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ३ जेठमा पुष्टि भएको थियो ।

Related Articles

Back to top button