अमेरिकी नागरिकलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइने
काठमाडौँ। अमेरिकाले आफ्ना नागरिकलाई कोरोनाभाइरसव्रिद्धको खोप लगाउने भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरूले एकपटक औषधि प्रभावकारिता सुनिश्चित भएपछि नागरिकमा कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन्। अमेरिकाले कोरोनाभाइरसविरुद्ध लड्ने ६ वटा खोपको प्रोजेक्टमा १० बिलियन अमेरिकी डलर भन्दा बढी लगानी गरेको समाचार माध्यम एएफपीले जनाएको छ।
यसैगरी अमेरिकाले ६ वटा खोपको प्रोजेक्टको सम्झौता पत्रमा समेत हस्ताक्षर गरिसकेको छ, जसअनुसार सबै क्लिनिकल परीक्षण स्वीकृत भएपछि खोपका करोडौं डोजहरु वितरण गर्ने एएफपीले समाचारमा उल्लेख गरेको छ। सरकारले खोपको डोजको खर्च आफैंले उठाउने र बिरामीहरुलाई खोप लगाउने चिकित्सकहरुलाई बीमा कम्पनीले भुक्तान गर्ने बताएको छ।
एएफपीसँग कुरा गर्दै वरिष्ठ स्वास्थ्य अधिकारी पल म्याङ्गोले भने, ‘हामीले निजी बीमा कम्पनीहरूसँग कुरा गरेका छौं र धेरैजसोले यसमा सहमत भएका छन्। हामीले सन् २०२१ जनवरीसम्म करोडौं डोज दिने छौं।’
यसैगरी, राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) का निर्देशक फ्रान्सिस कोलिन्सले भने, ’मलाई आशा थियो कि अमेरिकी सरकारले समर्थन गरेको छ खोप प्रोजेक्ट मध्ये एकले वर्षको अन्त्यसम्म खोप उत्पादन गर्नेछ।’