नेपालका लागि बज्यो खतराको घण्टी : मलेसियाले भन्यो नेपालीसहित विदेशीहरु आफ्नो देश फर्कनू
काठमाडौ । नेपालीहरु अत्याधिक वैदेशिक रोजगारीमा रहेको देश मलेसियाले नेपालीसहित विदेशीहरु आफ्नो देश फर्कनू भनेपछि अब नेपालमा बेरोजगारीको खतराको घण्टी बजेको छ । गत जनवरीदेखि भिसा अवधि समाप्त भएका नेपाली सहित विदेशी नागरिकलाई आफ्नो मुलुक फर्कन भनेको छ । कोभिड—१९ को संक्रमण थप रोकथाम गर्न सामाजिक दुरी कायम गर्नुपर्ने भन्दै मलेसियाली अध्यागमन विभागले आफ्नो मुलुकमा रहेका नेपालीसहित विदेशी नागरिकहरुको भिसा सम्बन्धि नयाँ प्रावधानहरु ल्याएको हो।
जसअनुसार जनवरी १ देखि भिसा समाप्त भएका विदेशी नागरिकहरुलाई मुभमेन्ट कन्ट्रोल अर्डर एमसिओ को अवधि समाप्त भएको १४ दिनभित्र आफ्नो मुलुक फिर्ता हुन भनिएको हो। हवाई टिकटसहित आफ्नो मुलुक फिर्ता हुन अनुमती प्रदान गरिएको जानकारी विभागले गराएको क्वालालाम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ। फिर्ता हुन चाहनेहरुले थप कागजात वा कुनै पास बनाउनुनपर्ने र कुनै किसिमको जरिवाना समेत तिर्नुनपर्ने जनाइएको छ। एमसिओको अवधि सुरु हुनुभन्दा पहिले वा लागू भएको अवधिमा भिसा समाप्त हुनेहरुले भिसा नियमित गर्नुपर्ने भएमा ३० कार्यदिन भित्र गर्न पाउनेछन्।
विदेशी नागरिकको भिसा सम्बन्धि सबै कार्यहरु अनलाईन मार्फत पहिले नै समय लिएर मात्र गर्न पाईनेछ। ‘यसरी अग्रिम रुपमा अनलाईन अपोइन्टमेन्ट नलिई सिधै उपस्थित भई आवेदन गर्न नपाईने व्यहोरा मलेसियाको अध्यागमन विभागले जानकारी गराएको छ’ क्वालालाम्पुरस्थित नेपाली राजदूतावासले भनेको छ। मलेसियाले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न मार्च १८ देखी लागू हुनेगरी जारी गरेको आवागमन नियन्त्रण आदेश यही मे १२ सम्मका लागि थप गरेको छ।