vada
News

विराटनगरमा कोरोनाबाट थप १ को मृत्यु, ३२ संक्रमित थपिए

२३ साउन, विराटनगर ।कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषलाई भर्नालगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ती पुरुष विहान सवा ९ बजे अस्पताल पुगेका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

निजी स्वास्थ्य संस्थामा लैजादा उपचार नभएपछि अन्तिम अवस्थामा आफन्तले अस्पताल पु¥याएका थिए । मृतकमा एक सातादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३ पुगेको छ । मोरङमा ज्यान गुमाउनको संख्या पाँच पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ३२ संक्रमित थपिएका छन् । विराटनगरमा २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै मोरङमा शुक्रबार ६४ जना संक्रमित थपिएका छन् । जसमा रंगेलीका २३ महिला र ६ पुरुष गरि २९, बुढीगंगामा २ पुरुष र कटहरीमा एक महिलामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको हो । प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९१० पुगेको छ । आज १ हजार ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button