पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना भाइरस संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै १ सय २ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ८८ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जना रहेका बताए ।
उनका अनुसार राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका ३, काठमाडौंका १४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भक्तपुरका २, काठमाडौंका ३९ र पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंका ५, भक्तपुरका १ र ललितपुरका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, वीर अस्पतालको प्रयोगशालामा काठमाडौंका ४, शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ७, स्टार अस्पताल सानेपामा काठमाडौंका ११, ललितपुरका १, विध ल्याब काठमाडौंमा ललितपुरका १, काठमाडौंका २, ह्याम्स अस्पतालमा काठमाडौंका ४ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ र काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।