काठमाडौँमा कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन
काठमाडौँ । काठमाडौँमा बुधबार र बिहीबार कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन्। इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २ दिनमा कोरोना संक्रमण पुष्टि भएका मध्ये १२ जना अझै सम्पर्क विहिन रहेको जानकारी दिएको छ।
‘१२ जनाको नै फोन लगाउँदा गलत नम्बर भन्छ,’ इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला भन्छन्, ‘गलत नम्बर मात्र होइन, बस्न ठेगानासमेत गलत टिपाएका छन् ।’
कोइरालाका अनुसार बुधबार १६ जना संक्रमित सम्पर्कविहीन थिए। तर विहीबार १० जना सम्पर्कमा आए, फेरि विहीबार देखिएका संक्रमितमध्ये ५ जना सम्पर्कविहीन छन्। ‘ती आज सम्पर्कमा आउलान् कि ?’ कोइरालाले भने ।
यसअघि पनि पटक–पटक संक्रमितहरु सम्पर्कविहीन छन् । तीमध्ये केही आफैं सम्पर्कमा आएको र केही अझै सम्पर्कमा नआएको कोइराला बताउँछन् ।
कोइरालाका अनुसार बिहीबार उपत्यकामा संक्रमितमध्ये ४१ जना प्रहरी भएको, केही स्वास्थ्यकर्मी र केही अख्तियारका बरिष्ठ अधिकारीहरुसमेत रहेका छन् । यस्तै विहीबार थपिएका संक्रमितमध्ये ३७ जनामा लक्षण समेत देखिएको छ ।
टेकुस्थित शुक्रराज अस्पताल, युनिफाइड अस्पताल र पाटन अस्पतालको आइसोलेसन भरिएपछि ईडीसीडीले विहीबार आयुर्वेद अस्पताल कीर्तिपुर, केएमसी अस्पताल भक्तपुर र नेपाल प्रहरी अस्पतालमा व्यवस्थापन गरेको छ ।