vada
News

कोरोना महामारीले नेपाल भारत सिमामा सदाको लागी तारबार लगाएर बन्द गर्ने अबसर दियो–देव गुरुङ

काठमाडौँ। नेकपाका प्रमुख सचेतक देव गुरुङले सीमामा कडाइ गरेर मात्रै कोरोना भाइरस(कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण हुने बताएका छन् । प्रतिनिधिसभाको कानुन,न्याय तथा मानव अधिकारी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सीमामा कडाइ नगरी कोरोना नियन्त्रण गर्न कठिन हुने बताएका हुन् । सीमानाकाबाटै कोरोना भाइरसको संक्रमणको जोखिम निम्तिएकाले कडाइ गर्नुपर्ने गुरुङले सुझाव दिएका छन् ।‘सीमामा टाइट नगरे त्यही नै हाम्रो निम्ति जोखिम र अभिशाप सावित हुनेछ,’उनले भने,‘तारबार लगाएर सीमा बन्द गर्नैपर्छ।

त्यस्तै उनले खासखास नाका मात्र खुलाएर सीमामा पासपोर्ट र भिसा प्रणाली लागू गर्नुपर्छ भन्ने कोरोना संक्रमणको परिघटनाले सन्देश दिएको बताए । प्रमुख सचेतक गुरुङले सीमा सुरक्षामा नेपाली सेना नै खटाउनुपर्ने पनि बताएका छन् ।‘सीमामा सशस्त्र प्रहरी र आन्तरिक सुरक्षामा नेपाली सेना खटाइनु अलि उल्टो भयो कि भन्ने लाग्छ,’गुरुङले भने । त्यस्तै आरडीटी परीक्षण विश्वसनीय नभएको भन्ने गुनासो आइरहेकाले यसमा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिनुपर्ने गुरुङले बताए । कोरोना भाइरसको महामारीका बेलामा अन्य रोगका बिरामीको उपचारमा बेवास्ता गरिएको भन्ने गुनासो आएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने गुरुङले बताएका छन् ।

कोरोना भाइरसको रोकथाम र उपचारमा निजी अस्पतालले तदारुकता नदेखाएको भन्दै यसले निजी अस्पताललाई पनि राष्ट्रियकरण गर्नुपर्छ भन्ने सन्देश दिएको उनले बताए । त्यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई पनि अनुकुल समयमा स्वदेश फर्काउन सरकार तयार हुनुपर्ने गुरुङले बताएका छन् । सर्वोच्च अदालतले समेत विदेशमा अलपत्र नागरिक ल्याउने प्रबन्ध गर भनेर अन्तरिक आदेश दिएको अवस्थामा सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनले बताए ।

पछिल्ला कदमले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकार गम्भीर छैन कि भन्ने प्रश्न उठेको पनि गुरुङले बताए । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेलामा यससँग सरोकार नै नभएका अध्यादेश ल्याउन खोज्नु गलत भएको उनले बताए । अध्यादेश फिर्ता भए पनि महामारीप्रति सरकार कति गम्भीर छ भन्ने सवाल भने उठेको उनले दाबी गरे । त्यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको कुरामा पनि छानबिन हुनुपर्ने उनले बताए ।-कान्तिपुरबाट

Related Articles

Back to top button
Close